Main

दोभासेले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीलाई सहज

३ साउन, तनहुँ । तनहुँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभासे राखेको छ । नगरपालिकाले दोभासे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी छन् ।

श्रवणशक्ति नभएका र सुस्तश्रवण भएका व्यक्तिले बोलीचालीका सामान्य भाषा सुन्न नसक्दा/नबुझ्दा हुने गरेका समस्या दोभासे राखेपछि हटेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार श्रवणसम्बन्धी समस्या भएकाको कुरा बुझ्नै समस्या भएपछि सहजीकरण गर्न दोभासे राखिएको हो ।

नगरपालिकाले दोभासेका रुपमा ज्ञानु पन्थलाई गत साउन १६ गते नियुक्त गरेको छ । ‘भाषा नबुझ्दा निकै समस्या हुन्थ्यो । नगरपालिका संघले दोभासे राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएर दोभासे तालिमको व्यवस्था गरेपछि यहाँबाट एक जनालाई पठाएर तालिम प्राप्त गराएर नियुक्त गरेसँगै सेवा प्रवाहमा सहज भएको छ’, प्रमुख न्यौपानेले भने ।

कार्यालयमा दोभासे राख्दा सेवा प्रवाहमा पनि सहज भएको पालिका प्रमुख न्यौपानेको भनाइ छ । उनले भने, ‘उनीहरुका भाषा बुझ्न मान्छे खोज्नुपर्ने अवस्था थियो । दोभासे राखिएपछि अहिले नगरपालिका श्रवणसम्बन्धी अपाङ्गतामैत्री बनेको छ । उनीहरुको काम गर्न सजिलो भएको छ ।’

श्रवण शक्तिसम्बन्धी समस्या भएका मनोज थापा र कमल श्रेष्ठ भन्छन्, ‘नगरपालिकाले हाम्रा कुरा सुन्यो र दोभासे राखिदिएको छ । बुझाउन समस्या भएको अवस्थामा दोभासेले बुझाइदिनुहुन्छ ।’

व्यासमा मात्रै नभएर अन्य पालिकाले पनि सबैलाई सहज हुने गरी दोभासे राख्नुपर्ने उनीहरुको मत छ । ‘पहिला नगरपालिकामा काम लिएर आउँदा कसैले पनि नबुझेर लेख्नुपर्ने अवस्था थियो । अहिले सिधैँ समस्या लिएर मेयरसँग कुरा गर्छौं’, उनीहरु भन्छन्,  ‘अनि समस्या समाधानमा सहज भएको छ ।’

नगरपालिकाले पन्थलाई तीन महिनाको तालिमपश्चात् दोभासेका रुपमा नियुक्त गरेको हो । नगरपालिकाभित्र कूल २ सय ९१ मध्ये एक सय ८ श्रवण शक्तिसम्बन्धी समस्या भएका तथा सुस्तश्रवण व्यक्ति छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button