नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्यो

२८ वैशाख, काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा कोषले ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
ब्याज आम्दानी, सेवा शुल्क आम्दानीसहित कुल आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब २५ करोड रहेकोमा अहिले १ अर्ब ४१ करोड छ ।
नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सेयरधनीलाई बोनस सेयर दिएपश्चात सेयर संख्या बढ्न जाँदा प्रतिसेयर आम्दानी खुम्चिएको छ । गत आवको तेस्रो त्रैमासमा वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४० पैसा रहेकोमा अहिले २२ रुपैयाँ १४ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४१ पैसा छ भने रिटर्न अन इक्वीटी ८.४९ प्रतिशत छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७२ रुपैयाँ ९० पैसा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।