Main

नियतपूर्वक लघुवित्तका ऋण नतिर्ने छुट्याउँदै राष्ट्र बैंक, कालोसूचीमा राख्ने

१३ साउन, काठमाडौंं । नियतपूर्वक ऋण नतिर्ने लघुवित्तका ऋणी कालोसूचीमा पर्ने भएका छन् । केन्द्रीय बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

तर, लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण नतिर्ने ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरे पनि यदि केही समय प्रदान गरे ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागे ६ महिनाका लागि कालोसूचीबाट हटाउने व्यवस्था गर्न सक्ने छुट केन्द्रीय बैंकले दिएको छ ।

यस्तो ऋणीले ६ महिनाभित्र ऋण चुक्ता नगरे अनिवार्य कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले नियतपूर्वक ऋण नतिर्ने ऋणी पहिचान गर्न लघुवित्तको ऋण नतिर्ने ऋणीको वर्गीकरण सम्बन्धी व्यवस्था गरेको छ ।

अब नियतपूर्वक ऋण नतिर्ने ऋणी र परिस्थितिवश ऋण नतिर्ने ऋणी छुट्याउनुपर्ने भएको छ ।

नियतपूर्वक ऋण नतिर्ने सूचीमा कस्ता ऋणी पर्छन् ?

नियतपूर्वक ऋण नतिर्ने ऋणीको सूचीमा भुक्तानीको भाखा नाघेको एक वर्षसम्म पनि संस्थाको सम्पर्कमा नआएका, ऋण नतिरी बेपत्ता भएका वा भागेका र भुक्तानी प्रतिबद्धता जाहेर नगरेका ऋणी पर्नेछन् ।

संस्थाको कर्जा बक्यौता राफसाफ गर्न धितो बिक्री गर्न सकिने अवस्था हुँदाहुँदै बिक्री गर्न नखोज्ने वा नदिने अवस्था सिर्जना गरेका, आफूसँग भएका अन्य सम्पत्ति ऋण तिर्न प्रयोग नगरेका ऋणी पनि उक्त सूचीमा पर्नेछन् ।

संस्थाबाट जुन परियोजनाका लागि ऋण लिएको हो, उक्त ऋण त्यसमा प्रयोग नगरी अन्य उद्देश्यमा प्रयोग गरेका व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेका तथा अन्य सम्पत्ति सिर्जना गरेका ऋणी उक्त सूचीमा पर्नेछन् ।

त्यस्तै पारिवारिक आय, धितो वा व्यवसायका सन्दर्भमा जानीबुझी झुठो विवरण प्रदान गरेका, ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाइएका ऋणी पनि नियतपूर्वक ऋण नतिर्ने ऋणीको सूचीमा पर्ने भएका छन् ।

ऋण प्रदान गर्ने संस्थाका कर्मचारीसँग/लाई मिलेमतो गरी/दुरुत्साहित गरी वा अन्य गैरकानुनी लेनदेन गरी ऋण लिएका र नतिर्नका लागि अवाञ्छित दबाब दिने गरेका तथा ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाइएका ऋणीसमेत उक्त सूचीमा पर्ने भएका हुन् ।

परिस्थितिवश ऋण नतिर्नेमा कस्ता ऋणी पर्छन् ?

ऋण तिर्ने मनसाय हुँदाहुँदै काबु बाहिरको परिस्थिति, असहज आर्थिक, व्यापारिक तथा औद्योगिक अवस्था वा प्रतिकूल आन्तरिक/वाह्य अवस्था वा प्राकृतिक प्रकोपका कारण व्यवसाय वा पारिवारिक आयमा कमी आई वा समस्याग्रस्त बनी ऋण तिर्न नसकेका ऋणी परिस्थितिवश ऋण तिर्न नसक्ने सूचीमा पर्छन् ।

त्यस्तै बैंकको निरन्तर सम्पर्कमा रही एकभन्दा बढी व्यवसायका स्रोतबाट आर्जित प्रतिफल तथा आफूसँग भएको अन्य सम्पत्ति/धितो बिक्री गर्न पहल गरेका र यस्तो पहल पर्याप्त हुँदा समेत कर्जा तिर्न असमर्थ ऋणी पनि उक्त सूचीमा पर्नेछन् । सरकारले ग्राहकको जायजेथा तथा व्यवसाय सञ्चालनमा रहेको स्थान अधिग्रहण गरेका ऋणी पनि यही सूचीमा पर्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button