नेपालमा अभ्यास गरेको क्यानडाको लिग–२ मा लगातार चौथो जित

२४ फागुन, काठमाडौं । युवा अलराउन्डर हर्ष ठाकेरले लगातार दोस्रो शतक हानेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएई र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजको डेब्यू मै क्लिनस्वीप गरेको छ ।
बिहीबार साविक च्याम्पियन स्कटल्यान्डलाई ५ विकेटले हराउँदै लगातार चौथो जितका साथ शानदार सुरुवात गरेको छ ।
जितको लागि पाएको १९८ रनको मध्यम लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडाको जितमा हर्ष ठाकेरले १५० बलमा ८ चौका र १ छक्कासहित १०५ रनको शतकीय इनिङ खेले । हर्षले यसअघि मंगलबार युएईलाई ८ रनले हराउन १११ रनको शतकीय इनिङ खेलेका थिए ।
हर्ष क्यानडाबाट ओडीआईमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी हुन् । दुई शतक हान्ने दोस्रो क्यानेडियन खेलाडी बनेका छन् ।
यसअघि क्यानडाबाट २००७ मा आशिष बगाईले स्कटल्यान्डसँग १३७ र आयरल्यान्डसँग १२२ रनको शतकीय इनिङ खेलेका थिए ।
एक समय ६.५ ओभरमा ३४–४ को अवस्थामा पुगेको क्यानडालाई पाँचौं विकेटका लागि निकोलस किर्तोन र हर्षले १०९ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गराएका थिए ।
स्कटल्यान्डका ब्राड ह्वीलले २, ब्राड्ली करी र शफ्यान शरिफले १–१ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४७.३ ओभरमा १९७ रनमा अल आउट भएको थियो ।
स्कटल्यान्डका जर्ज मुन्शेले ४७ बलमा ६ चौकासहित सर्वाधिक ३६, ब्रेन्डन म्याकमुलेन ३३ र रिची बेरिंग्टनले ३० रन बनाए । एक समय स्कटल्यान्ड २३.५ ओभरमा १२४–२ को मजबुत अवस्थामा थियो ।
हर्षले म्याकमुलेनलाई साद बिन जाफरबाट क्याच गराएपछि स्कटल्यान्ड सम्हाल्लिन सकेको थिएन ।
क्यानडाका हर्ष ठाकेरले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर ३ विकेट लिदै यादगार अलराउन्ड प्रदर्शन गरे ।
आमर खालिद र साद बिन जाफरले २–२ विकेट लिए । कलिम साना, डिलोन हेलिगर र निकोलस किर्तोनले १–१ विकेट लिए ।
क्यानडाले यसअघि युएईलाई ८ रन र ३ विकेटले हराएको थियो । स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो । क्यानडा ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ ।
नामिबिया ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ४ खेलमा १ मा जित र ३ मा हारसहित पाँचौं स्थानमा छ ।
८ टोली सहभागी लिग २ का शीर्ष चार टोलीले २०२७ को ग्लोबल छनोट सोझै खेल्न पाउनेछन् । लिग २ सिरिज २०२७ सम्म चल्नेछ ।
क्यानडाले लिग–२ खेल्नुअघि नेपालमा आएर अभ्यास गरेको थियो । नेपालसँग तीन ओडीआई सिरिजमा क्लिनस्वीप हार व्यहोरेको थियो । नेपाल ए सँगको सिरिज २-१ ले जितेको थियो ।
क्यानडाले गतवर्ष क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीलाई पछि पार्दै २०१४ पछि पहिलो पटक ओडीआई मान्यता फिर्ता गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।