पूर्वसचिव चक्रबन्धु अर्यालले खेपेको ‘अन्तिम चोट’

२६ असार, काठमाडौं । ८४ वर्षको बयोवृद्ध ज्यान । आफैं हिंड्डुल गर्न सक्दैनन् । श्रीमती बिरामी भइरहन्छिन् । एकपछि अर्को पारिवारिक चोट व्यहोरेका पूर्वसचिव चक्रबन्धु अर्याललाई सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति कमाएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उनलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलालाई केही संशोधनसहित सदर गरेको हो ।
सर्वोच्च अदालतले अर्याललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्ने विशेष अदालतको फैसला भने सदर गरेको छ । खेतीपातीबाट आम्दानी गरेको सम्पत्तिसम्बन्धी दाबीमा केही हेरफेरसहित विशेष अदालतकै फैसला सदर भएको हो ।
‘प्रतिवादी (मुद्दा चलेको व्यक्ति)को हकमा तोकिएको बिगो, जरिवाना र सजायको मात्रा केही हेरफेर भएको हुनसक्छ, तर आरोप स्थापित भएको छ,’ सर्वोच्च अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीले भने, ‘मुद्दाको फैसलामात्रै भएको हो, अरु विवरण सार्वजनिक भएको छैन । पूर्णपाठ सार्वजनिक भएपछि मात्रै बाँकी विषयवस्तु थाहा हुनेछ ।’
२०५६ सालमा सचिवबाट अवकाश पाएका अर्यालमाथि १० मंसिर २०६० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको थियो । २० वर्ष ७ महिनामा बल्लतल्ल मुद्दा टुंगिए पनि फैसलाको पूर्णपाठ आउन र त्यसको कार्यान्वयन हुन बाँकी छ ।
फैसलापछिको झमेलाबाट पार पाउन उनलाई अझै एकाध वर्ष लाग्ने छ । फैसलाको पूर्णपाठ सार्वजनिक हुनासाथ ८४ वर्षीय अर्यालले अदालतले तोकेको कैद भोग्नुपर्नेछ भने उनको केही सम्पत्ति सरकारले जफत गर्नेछ ।
बुढेसकालमा कैद र सम्पत्ति जफतको झमेला मिलाएर सबैजसो मुद्दा मामिलाबाट छुटकारा पाउन उनलाई अझै एकाध वर्ष लाग्ने छ ।
एकपछि अर्को चोट
सामान्यतया जागिरबाट अवकाशपछिको जीवन सहज र स्वतन्त्र हुने मान्यता अर्यालको हकमा ठिक उल्टो भयो । अवकाश भएको चार वर्षपछि १० मंसिर २०६० मा अख्तियारले उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी भ्रष्टाचारको आरोप लगायो ।
उनीसँग ४ करोड ८ लाखको सम्पत्ति रहेको र त्योमध्ये २ करोड ६० लाख रुपैयाँको स्रोत नखुलेकाले त्यो रकम भ्रष्टाचार गरेर कमाएको अख्तियारको आरोप थियो ।
भ्रष्टाचारको आरोप खेपेको डेढ वर्षपछि उनले कल्पनै नगरेको बिपत्ति भोग्नुपर्यो । पूर्वसचिव अर्यालका कान्छा छोरा सुदर्शन अर्यालले छुरा प्रहार गरेर भर्खरै अमेरिकाबाट फर्केका आफ्ना दाजु सुवासको हत्या गरे । एउटा तनाव झेलिरहेका बाबुले गहिरो शोक व्यहोर्नुपर्यो ।
घटनाबारे साक्षीहरूले अदालतमा गरेको बयान अनुसार, दाजुलाई चक्कु प्रहार गरेपछि सुदर्शनले मानसिक रोगीले खाने औषधि खाएर कोठा थुनेर बसेका थिए । उनको साथबाट बाबुमाथि लागेको आरोपलाई संकेत गर्दै ‘सबैको अपहेलना र छिछि, दुरदुर भएको’ भनेर लेखेको कागज प्रहरीले फेला पारेको थियो ।
चक्रबन्धुले एउटा छोरा गुमाउनुपर्यो भने दाजुको हत्याको अभियोगमा अर्को छोरा कारागारमा पुगे । पुत्रवियोग खेपिरहेका अर्यालले क्यान्सरको पनि सामना गरे । मुद्दा बोकेर हिंडिरहेका अर्यालले गहिरो शोक र कष्टकर रोग एकसाथ झेलिरहे । दुई दशकदेखि खेपिरहेका भ्रष्टाचारको आरोपबाट छुटकारा पाउने आशा सर्वोच्च अदालतको पछिल्लो फैसलापछि समाप्त भयो ।
‘एउटा मान्छेले पारिवारिक पीडा र मुद्दा मामिलाका कारण कुन हदसम्मको चोट व्यहोर्नुपर्छ भन्नेमा उहाँ उदाहरण हो,’ उनलाई नजिकबाट चिन्ने एक पूर्व सहसचिव भन्छन्, ‘बेलैमा मुद्दा छिनोफानो गरिदिएको भए उहाँले त्यतिबेला नै चोट सहनुहुन्थ्यो, ८४ वर्षको मान्छेले यतिबेला पीडा सहनु पर्ने थिएन ।’
विशेष अदालतमा दायर भएको भ्रष्टाचार मद्दा हदम्यादको कारण देखाउँदै १४ असोज २०६४ मा खारेज भयो । त्यो मुद्दा सर्वोच्च अदालत पुग्यो । १२ पुस २०६८ मा सर्वोच्च अदालतले विशेष अदालतको हदम्यादसम्बन्धी व्याख्यालाई त्रुटिपूर्ण ठहर्याउँदै फैसला खारेज गर्यो । अनि फेरि हेर्नु भनी विशेष अदालतमा नै मुद्दा फर्काउन आदेश दियो ।
२०६९ सालमा नै चक्रबन्धुले व्यहोरेको अथाह पीडा उनका कानुन व्यवसायीहरूले इजलासमा सुनाएका थिए । दाजुको हत्या गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले ५ वर्षमात्रै कैद सजाय गरेकोमा सुदर्शनलाई सर्वोच्च अदालतले भने जन्मकैद (२० वर्ष) को सजाय तोक्यो । चक्रबन्धु स्वयंलाई क्यान्सरले छोयो, पत्नी सीतादेवी दीर्घ रोगी छन् ।
अर्यालको ‘पारिवारिक जीवन भताभुंग र लथालिंग भएको’ भन्दै कानुन व्यवसायीले उनलाई थप पीडा नदिन इजलासमा याचना गरेका थिए । तत्कालीन दरबारले पूर्वाग्राह राखेर राजनीतिक उद्देश्यले मुद्दा चलाएको भन्दै उनीहरूले सफाइको माग राखेका थिए । विशेष अदालतले फेरि मुद्दाको सुनुवाइ गरेर ७ मंसिर २०६९ मा उनलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्यो ।
विशेष अदालतले ७ मंसीर २०६९ मा चक्रबन्धुलाई भ्रष्टाचारी ठहर गरी ६६ लाख २ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर्यायो र डेढ वर्ष कैद सजायको फैसला गर्यो । विशेष अदालतले फैसलामै चक्रबन्धुको परिवारिक अवस्थाप्रति सहानुभूति प्रकट गरेको थियो ।
‘निजहरूमाथि लागेको रोग र वृद्धावस्थाका कारण मात्रै यो मुद्दा खारेज हुने कानुनी व्यवस्था रहेको पाइँदैन,’ विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको इजलासले फैसलामा भनेको थियो, ‘प्रतिवादीको पारिवारिक जीवनमा आएको विपत्तिप्रति यो अदालत सहानुभूति प्रकट गर्दछ र रोगबाट शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गर्दछ ।’
चक्रबन्धुले कार्तिक २०७० मै विशेष अदालतको फैसला बदर हुनुपर्ने र आफूले सफाइ पाउनुपर्ने भनी सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । तर वर्षौंसम्म सुनुवाइ भएन, मुद्दा टुंगिएन । न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीले २०७४ सालमै निर्णय सुनाउने मिति तोके पनि मुद्दाको फैसला गरेनन् ।
गत जेठ १३ र २१ गते दुई दिन सुनुवाइ गरेर सर्वोच्च अदालतले चक्रबन्धु मुद्दाको फैसला गरेको हो । त्यसको पूर्णपाठ सार्वजनिक भएपछि उनीमाथिको सजाय र जरिवाना अनि राज्यले असुल्ने सम्पत्तिको टुंगो लाग्नेछ ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटाका अनुसार, वृद्ध अवस्थाका कारण चक्रबन्धु केही वर्षयता अदालत आउन र कानुन व्यवसायीलाई भेट्न छाडेका थिए । ‘मुद्दामा समन्वय गर्न पछिल्लो समय उहाँको भतिज आउने गर्नुहुन्थ्यो,’ सापकोटा भन्छन्, ‘सर्वोच्च अदालतले भर्खरै फैसला गरेको छ । पूर्णपाठ आएपछि अरू विषय टुंग्याउन अझै समय लाग्ला ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।