Main

पोखरा छिर्ने राजमार्गको कन्तबिजोग : कहिले हिलैहिलो, कहिले धुलैधुलो

२५ वैशाख, पोखरा । पर्यटकीय राजधानी पोखरा जोड्ने दुवैतर्फका ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा-मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी सडक समयमा नबन्दा वर्षातमा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।

दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयबासीले हिलो र धुलोको सास्तीबाट कहिले मुक्ति पाउँछन् भन्ने कुनै टुंगो छैन । ‘प्रि-मनसुन’को याम चलिरहेकाले पानी पर्दासाथ सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । स्तरीय सडक नहुँदा पैदलयात्रीसमेत समस्या व्यहोर्न बाध्य छन् ।

पोखरा-दमौली चल्ने बसका सहचालक दीपक परियारले सडककै कारण सवारी जामलगायतका समस्या भोग्नुपरिरहेको सुनाउँछन् । ‘निर्माणका क्रममा भएकाले सडक ठाउँठाउँमा भत्किएको छ, यात्रामा जोखिम छ’, उनले भने, ‘सडकको काम ढिलो हुँदा यो समस्या धेरै लम्बिने देखिन्छ ।’

आउँदो वर्षायाममा पोखरा-मुग्लिङ यात्रा अझै कष्टकर बन्ने देखिएको परियार बताउँछन् । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्गको दुरावस्थाका कारण पर्यटक आवागमनमा पनि नकारात्मक प्रभाव परिरहेको छ । २ वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति सुस्त गतिमा हुँदा समस्या निम्तिएको हो ।

आयोजनाको पूर्वी खण्ड (मुग्लिन-जामुने)मा हालसम्म भौतिक प्रगति ५१ प्रतिशत र पश्चिम खण्ड (जामुने-पोखरा)मा जम्मा १७ प्रतिशत पुगेको जनाइएको छ । पूर्वी खण्डको १४ किमि दूरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डमा पर्ने १७ साना-ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेको र ३ वटा निर्माणाधीन छन् ।

मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । बाँकी ठाउँमा कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम भइरहेको जनाइएको छ । ४१.४५ किमिको पूर्वी खण्डमा ०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्नेछ ।

आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)का प्रमुख राजेशप्रसाद पौडेलले उक्त सडक खण्डको काम सकिन अझै दुई वर्ष लाग्ने बताए । ‘हालसम्म पश्चिम खण्डको भौतिक प्रगति १७ प्रतिशत छ, कुनै अवरोध आएन भने दुई वर्षभित्र काम सकिन्छ’, उनले भने ।

कतिपय ठाउँमा सडक दायाँबायाँका भौतिक संरचना, विद्युत् पोल, खानेपानी र सिँचाइका पूर्वाधार व्यवस्थापन गर्न काम बाँकी रहेको उनको भनाइ छ ।

पश्चिम खण्डमा हालसम्म साढे ५ किमि सडक कालोपत्र भइसकेको जनाइएको छ । तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको तयारी गरिएको प्रमुख पौडेलले जानकारी दिए । आगामी असारभित्र ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित आयोजनाको कामलाई गति दिइएको उनको भनाइ छ ।

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८.८८ किमि दूरी रहेको पश्चिम खण्डको आधा सडक ६ लेन र आधाजति ४ लेनको बन्नेछ । आयोजनाको पश्चिम खण्डको निर्माण पूर्वी खण्डको भन्दा ६ महिनापछि सुरु भएको थियो । सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार आदि हटाउन समय लागेकाले सडक निर्माणमा ढिलाइ भएको प्रमुख पौडेलले बताए ।

पश्चिम खण्डअन्तर्गत दुलेगौँडा र मुख्य बजार क्षेत्रको सडक ४६ मिटर हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्ममा १८ मिटर र बाँकी खण्डमा २३ मिटर सडक कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डमा १२ वटा पक्की पुल र सयको हाराहारीमा कल्भर्ट बनिरहेको आयोजना कार्यालयले जनाएको छ । पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छ ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो । कुल ८१ किमि दूरीको सो सडक एसियाली विकास बैंकको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

२ किलोमिर दूरीले दिएको दुख

पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले २२ सय मिटरको हरिचोक–याम्दी सडक २ वर्ष बित्दासमेत स्तरोन्नति हुन नसकेको बताए । मध्यपहाडी लोगमार्गअन्तर्गत पर्ने यो सडकखण्ड नबन्दा स्थानीय मात्रै होइन, धौलागिरि क्षेत्र प्रवेश गर्ने यात्रुले सास्ती व्यहोर्नु परिरहेको छ ।

‘हामीले पटकपटक दबाबमूलक कार्यक्रम पनि गर्‍यौं । तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ’, उनले भने, ‘पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गको अवस्था दुर्दशापूर्ण छ, स्थानीयबासी पनि धुलो र हिलोले हैरान छन् ।’

पोखरा–बागलुङ चल्ने जीपका चालक लक्ष्मण क्षेत्रीले २ वर्षदेखि उक्त सडकको अवस्था नाजुक रहेको बताए । ‘एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस’, उनले भने, ‘दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।’ ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उनले दुःखेसो पोखे । सोही सडकका कारण पोखरासम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ ।

पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्मको सडक २ वर्षअघि नै कालोपत्र गरिएको थियो । बीचको झण्डै २२ सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जनाएको छ ।

केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भएपनि सडकको भौतिक प्रगति अति न्यून छ । आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटकपटक ताकेका गर्दै आएको छ । आयोजनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत सरोकार भएका पक्षबीचको बैठकमा सडक निर्माण छिट्टै सक्ने प्रतिबद्धता जनाइएपनि कामले गति लिन नसकेको वडाध्यक्ष प्रधानले बताए ।

गत वर्ष साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले निर्माणको जिम्मा पाएको थियो । २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दुरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् ।

सडक कालोपत्र नहुँदा धुलो र हिलोको समस्याले स्थानीयवासी पनि आजित भएका छन् । व्यापारमा पनि असर पुगेको जनाइएको छ । सडक साँघुरो र अस्तव्यस्त हुँदा सवारी जामको समस्या उस्तै छ । दुर्घटनाको पनि जोखिम बढेको छ ।

‘मौसमको प्रतिकुलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ’, वडाध्यक्ष प्रधानले भने, ‘अहिलेकै गतिमा काम भए आउँदो साउनभित्र पनि सडक कालोपत्र हुन मुस्किल पर्ने देखिन्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button