पोखरामा ल्याण्डफिलमा ४ दिनदेखि आगलागी हुँदा फोहोर सडकमै

२८ चैत, पोखरा । पोखरा–३२ लामेआहालमा रहेको ल्याण्डफिल साइडमा ४ दिनदेखि आगलागी हुँदा फोहोर सडकमै थुप्रिएका छन् ।
४ दिनअघि ल्याण्डफिलमा देखिएको आगो फैलिँदै गएर नियन्त्रण गर्नसमेत गाह्रो भएपछि फोहोर बिसर्जन रोकिएको हो ।
सुरुमा सानो रुपमा देखिएको आगो भित्रभित्रै फैलिँदै गएको र हावाहुरीले झन् बढ्दै गएपछि पोखरा महानगरको दमकललेसमेत नियन्त्रण गर्न नसकिएको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।
पोखराका २ वटा दमकल ३ दिनदेखि आगो नियन्त्रण गर्न लागेको भए पनि नसकिएको र ल्याण्डफिल नजिकैको च्याउ फार्ममा समेत आगो सल्किएको वडा नम्बर ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।
च्याउ फार्मको एउटा टनेलसहित पराल जलेर नष्ट भएको र किसानले लाखौंको क्षती बेहोरेको वडाध्यक्ष कार्कीको भनाइ छ ।
फोहोरमैला व्यवस्थापन शाखाकी बरालले आगलागीका कारण ल्याण्डफिल साइटमा फोहोर लैजान नसक्दा सडकबाट उठ्न नसकेको बताइन् ।
उनले ल्याण्डफिलमा आगोका कारण लैजान नसकिएको फोहोर फाल्ने गाडीमासमेत भरिएपछि सडकबाट नउठेको बरालको भनाइ थियो ।
आगो निभाउन माटोले पुर्ने, दमकलबाट पानी फाल्ने गरिएको र नियन्त्रण हुने क्रममा रहेकाले बिहीबार फोहोर उठ्ने बरालले जानकारी दिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।