पोखरामा वडाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

१२ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका–२५ ले आफ्ना वडाका जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच्न सुरु गरेको छ । वडाले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ मार्फत घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच्न थालेको वडाध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए ।
स्वास्थ्यकर्मीको टोली बनाएर घरमै पुगेर स्वास्थ्य जाँच्दा अधिकांश जेष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिएको पोखरा महानगरको प्रवक्तासमेत रहेका वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘सबैले आफ्नो समस्यालाई सामान्य ठानेर हेल्चक्र्याइँ गरेको पाइयो’, उनले भने, ‘बेलैमा ध्यान नदिँदा त्यसले पछि झन् धेरै समस्या निम्तिने गरेको पाइयो ।’
वडाध्यक्ष तिमिल्सिनाले वडाका जेष्ठ नागरिकको स्वास्थ्य जाँचसँगै नियमित निगरानीमा पनि राखिने जानकारी दिए । ‘बेलैमा आफ्नो स्वास्थ्यको ख्याल नराख्ने, औषधि नियमित सेवन नगर्ने धेरैको बानी छ । हाम्रो अभियानलाई सार्थक बनाउन उहाँहरुलाई नियमित निगरानीमा राख्छौं’, उनले भने, ‘फलोअपको बेला छुट्नुभयो भने सूचना आउने व्यवस्था गरेका छौं ।’
वडाध्यक्ष मोती तिम्सिनाले महानगरकै नमुना कार्यक्रमका रूपमा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरिएको बताए ।
हेमजा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।
‘विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित गरेनगरेको अनुगमन गरिन्छ’, प्रमुख सुवेदीले भने, ‘सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।