बलिउडमा सिक्वेलको बाढी

काठमाडौं । आगामी दिनमा बलिउडमा सिक्वेलको बाढी आउँदैछ । रोहित शेट्टीको ‘सिंघम अगेन’देखि कार्तिक आर्यनको ‘भुलभुलैया ३’ सम्म करिब १० सिक्वेल फिल्म आगामी ६ महिनामा रिलिज हुने तयारीमा छन् ।
यी सिक्वेलमा लगभग ७०० करोड भारु दाउमा छ । ट्रेड एनालिस्ट अतुल मोहनका अनुसार कुनै पनि फिल्मको सिक्वेल ल्याउने रणनीतिले बक्स अफिसमा राम्रो ओपनिङ दिन मद्दत गर्छ । तर निर्माता गिरीश जोहर यो रणनीतिले पनि उल्टै असर गर्न सक्ने बताउँछन् ।
१९ जुलाईमा ‘ब्याडन्युज’, १५ अगस्टमा ‘स्त्री २’ र ‘सिंघम अगेन’, १३ सेप्टेम्बरमा ‘मेट्रो इन दिनों’, ११ अक्टोबरमा ‘ब्याडएस रवि कुमार’, १ नोभेम्बरमा ‘भुलभुलैया ३’, १५ नोभेम्बरमा ‘रेड २’, २२ नोभेम्बरमा ‘धड्क २’, ६ डिसेम्बरमा ‘पुष्पा २’ र २५ डिसेम्बरमा ‘सितारे जमिन पर’ रिलिज हुँदैछन् ।
यसबारे व्यापार विज्ञ अतुल मोहनले भने, ‘आगामी ६ महिनासम्म सबैको नजर सिक्वेलमा हुनेमा कुनै शंका छैन । यी फिल्मको आफ्नै छुट्टै फ्यानबेस छ । कसैले फिल्मको पहिलो, दोस्रो भाग हेरेका छन् भने नयाँ फिल्मसँग सजिलैसँग जोडिन सक्छन् । निर्माताको लागि जोखिम मूल्य थोरै कम हुन्छ ।’
अब फिल्मले लामो समयसम्म कस्तो प्रदर्शन गर्छ भन्ने त्यसको विषयवस्तुमा निर्भर हुन्छ । तर यी फिल्मबाट राम्रो ओपनिङको अपेक्षा गर्न सकिन्छ ।
निर्माता तथा फिल्म व्यवसायी गिरीश जोहर सिक्वेल रिलिज गर्ने मात्र रणनीति सही नरहेको तर्क गर्छन् । ‘सेफ गेम भएकाले सिक्वेल बनाइएको हो । पहिलो फिल्म हेर्नेले दोस्रो फिल्म पक्कै हेर्ने निर्माता ढुक्क छन् । उनीहरुलाई लाग्छ कि सिक्वेलमा पनि कथा उत्तिकै बलियो हुनुपर्छ भन्ने छैन,’ उनी भन्छन् ।
यदि नयाँ फिल्मको मनोरञ्जन भ्यालुलाई दर्शकले मन पराउँदैनन् भने यो उल्टो हुने जोहर बताउँछन् । ‘जबसम्म राम्रो कन्टेन्ट हुँदैन तबसम्म सिक्वेल ल्याउने रणनीति अपूर्ण छ । सिक्वेल मात्र ल्याउँदा यसले ब्राण्ड भ्यालुमा असर परेको छ,’ उनी भन्छन्, ‘पछिल्ला केही वर्षयता केही फिल्मले बक्स अफिसमा कमाइ गरेका छन् । तर जब यी फिल्मको सिक्वेल बने फ्लप साबित भए ।’
सन् २०२४ को ६ महिना बितिसकेको छ । यो अवधिमा बलिउडका धेरै फिल्म ठूलो पर्दामा रिलिज भए, जसमा केही फिल्मले बक्स अफिसमा आफ्नो लगानी पनि उठाउन सकेनन् । ट्रेड एनालिस्ट जोगिन्दर टुटेजा सिक्वेलको सूचीमा परेका केही फिल्मले राम्रो व्यापार गर्न सक्नेमा आशावादी छन् ।
पछिल्लो समय धेरै प्रकारका सिक्वेल बनिरहेका छन् । यसलाई ‘स्पिन अफ’ वा ‘स्प्रिचुअल सिक्वेल’ पनि भनिन्छ । ‘स्पिन अफ’ भन्नाले अघिल्लो फिल्मका केही पात्र प्रयोग गरेर नयाँ कथा बनाइएको हो, जहाँ ‘स्पिरिचुअल’ को सिक्वेल भनेको नयाँ फिल्म पुरानो कथामा आधारित नभई पुरानो फिल्मको विषयवस्तु हो । कतिपय फिल्ममा पात्र उस्तै भएपनि कथा नयाँ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।