बागमतीमा वर्षा र अमरप्रतापले गरे र्याफ्टिङको शुभारम्भ

काठमाडौं । फिल्म ‘मोदीबेनी’का कलाकारले बागमती नदीमा नौकाविहार (र्याफ्टिङ)को शुभारम्भ गरेका छन् । फिल्मको प्रवर्द्धनमा सक्रिय अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता अमरप्रताप श्रेष्ठले डुंगा सयर समेत गरे ।
नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत र्याफ्टिङ सुरु गरिएको हो ।
थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्याफ्टिङ गरेका थिए । सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् । श्रेष्ठले अभियानलाई सबैले मिलेर सफल बनाउनुपर्ने र काठमाडौंमा नै र्याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकको लागि पनि आकर्षण हुनसक्ने बताए ।
बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौं जनाले एकसाथ र्याफ्टिङ गर्ने गर्छन् । आइतबारदेखि थापाथलीदेखि चोभारसम्म सर्वसाधारणले पनि र्याफ्टिङ गर्न पाउनेछन् । यसका लागि निश्चित शुल्क तोकिएको छ ।
काठमाडौंमा र्याफ्टिङ नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए ।
शंकर कोइरालाले निर्देशन गरेको फिल्म ‘मोदीबेनी’मा सरोज खनाल, प्रवीण तिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल लगायतको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।