Main

बारपाक सुलीकोटमा सडक खन्न बिना अनुमति वन क्षेत्रमा डोजर

९ माघ, गोरखा । जिल्लाको बारपाक सुलीकोट गाउँपालिकामा सडक ट्रयाक खन्न बिना अनुमति वन क्षेत्रमा डोजर चलाएको पाइएको छ ।

वडा नम्बर १ को ओग्रापौवा खोलादेखि लिस्याङवुङसम्म नयाँ ट्रयाक खन्न इप्चेना तथा सुनानपाखा सामुदायिक वन क्षेत्रमा डोजर चलाइएको हो ।

विना अनुमति वन क्षेत्रमा डोजर चलाएको थाहा पाएपछि डिभिजन वन कार्यालयको टोलीले सोमबार स्थलगत निरीक्षण गरी काम रोक्न निर्देशन दिएको छ । बारपाक सव–डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सिर्मलले भने, ‘वन क्षेत्रको जग्गा खन्न सुरु भएको रहेछ, हामीले रोक्न लगायौ ।’

कानुन अनुसार मात्र अघि बढ्न भन्दै सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई पत्राचार समेत गरिएको उनले जानकारी दिए ।

यो बर्ष बारपाक सुलीकोट गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको उक्त योजनामा गत बर्ष पनि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर वन क्षेत्र परेकै कारण काम हुन सकेको थिएन । ‘गत वर्ष वन क्षेत्र बाहेकको करिव पाँच सय मिटर क्षेत्रमा काम भयो, त्यसपछि भएन’, गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले भने, ‘त्यही योजनामा अहिले फेरि रकम विनियोजन भएको हो ।’

नेपाल सरकारको निर्णय वा स्वीकृतिबिना वन क्षेत्रमा कुनै पनि योजना सञ्चालन गर्न नपाइने डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । तर पालिकाले विना अनुमति वन क्षेत्र मास्दै नयाँ ट्रयाक खोलिरहेको छ । तर कार्यालयलाई जानकारी समेत नआएको पौडेल बताउँछन् ।

वडाध्यक्ष धनबहादुर घलेले भने सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिसँग अनुमति लिएर ट्र्याक खनेको बताए । ‘उहाँहरुसँग सहमति गराएर हामीले निर्णय गरेर काम अघि बढाएका हौ, त्यो क्षेत्र वनको परेपनि खासै रुखहरु छैनन्, कु–काठहरु मात्र पर्छन्,’ उनले भने ।

तर वन अधिकृत सिर्मलले सामुदायिक वन उपभोक्ता समितिको अनुमतिले वन क्षेत्रमा योजना सञ्चालन गर्न नपाइने बताए ।

कृषि सडकको नाम दिइएको उक्त योजनाले वन क्षेत्रको करिव डेढ सय रुख मासिने अनुमान गरिएको छ ।

‘गत बर्ष पनि हामीले हुदैन भनेर रोक्यौ तर अहिले नयाँ समिति गठन गरेर हामीसँग समन्वय नगरी काम अघि बढायो, अनुमति लिनुपर्छ भन्दा विनाश विना विकास हुँदैन भनेर जबर्जस्ती गर्नुभयो’, कार्यालयका एक कर्मचारीले भने । उक्त ट्रयाक खन्दा सो क्षेत्रमा रहेको ऐतिहासिक झरनामा समेत असर पर्ने उनको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button