Main

बार्सिलोनालाई उसैको मैदानमा हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

५ वैशाख, काठमाडौं ।  केलिएन एमबाप्पेले दुई गोल गरेपछि बार्सिलोनालाई दोस्रो लेगमा उसैको मैदानमा ४-१ ले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा घरेलु मैदानमा ३-२ ले  पराजित भएको पीएसजीले दोस्रो लेगमा नतिजा उल्टाउदै समग्रमा ६-४ को जित निकालेको हो ।

दोस्रो लेगमा पनि घरेलु मैदानमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो तर जोगाउन सकेन ।  राफिन्हाले १२औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले समग्रमा ४-२ को अग्रता बनाएको थियो ।

तर २९औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजो रातो कार्ड पाउदै मैदान बाहिरिएपछि पीएसजीले त्यसको फाइदा उठायो । ४०औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । दोस्रो हाफमा पीएसजीले थप ३ गोल गर्‍यो ।

५४औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले २-१ को अग्रता बनाउदै समग्रमा स्कोर ४-४ को बराबरीमा पुर्‍यायो ।

त्यसपछि एमबाप्पेले ६१औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत पहिलो गोल गरे भने ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले खेल ४-१ ले जित्यो ।

बार्सिलोनाका प्रशिक्षक जाभीले ५६औं मिनेटमा रातो कार्ड सामना गरेका थिए ।

यस्तै अर्को स्पानिस क्लब एट्लेटिको मड्रिड पनि पहिलो लेगमा अग्रता लिएपनि दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित हुँदै बाहिरिएको छ ।

घरेलु मैदानमा भएको दोस्रो लेग ४-२ ले जित्दै डर्टमण्डले समग्रमा ५-४ ले नतिजा आप्नो पक्षमा पारेको हो ।

डर्टमण्डका लागि जुलियन ब्रान्ट, इयान माटसेन, निकलस फुलकर्ग र मार्सेल सबितजरले एक/एक गोल गरे ।

यस्तै एट्लेटिकोका लागि एन्जल कवरेअले एक गोल गरे भने डर्टमण्डमा म्याट हुमेल्सले आत्मघाती गोल गरेका थिए ।

अब सेमिफाइनलमा पीएसजी र डर्टमण्डबीच खेल हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button