बुटवल पावरको नाफा घट्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँमा खुम्चियो

३० साउन, काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ४२ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३० करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको छ भने प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढेको छ, जसले नाफामा असर परेको देखिन्छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा ७२ करोड ४४ लाख रुपैयाँको बिजुली बिक्री गरेकोमा गत आर्थिक वर्षमा भने ६८ करोड ७० लाखको बिक्री गरेको छ ।
नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसामा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ रुपैयाँ ९५ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६८ पैसा छ । ३ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीको मंगलबार बजारमा मूल्य प्रतिकित्ता ४३८ रुपैयाँ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।