भटभटे माइला र पुतलीको जोडी अलग भएको हो ?

काठमाडौं । टेलिभिजन श्रृंखला ‘गाह्रो छ हो’को लोकप्रिय जोडी भटभटे माइला र पुतलीको जोडी दर्शकमाझ चर्चित छ । भटभटेको भूमिकामा बेगम नेपाली र पुतलीको भूमिकामा रियाशा दाहालले अभिनय गर्दै आएका थिए ।
तर केही एपिसोडदेखि दर्शकले रियाशालाई सिरियलमा देखिरहेका छैनन् । उनलाई नदेख्दा दर्शकले सिरियल छाडेको अनुमान पनि लगाइरहेका छन् । यति मात्र होइन, सिरियलबाट उनको नाम समेत हटाइएको छ ।
निर्देशक मनराज श्रेष्ठले रियाशाले आफू केही समय रेस्ट गर्छु भनेर जवाफ दिएको बताए । ‘धेरै सिरियल भयो । रेस्ट गर्छु र बुढाको बिजनेस सम्हाल्छु भनेर भन्नुभो,’ श्रेष्ठले भने, ‘पहिला पनि धेरै एपिसोड ग्याप भएपछि फर्किनुभएको हो । फेरि पनि फर्कनुहुन्छ कि भन्ने आशामा छौं ।’
गत वर्ष रियाशाको विवाह भइसकेको छ । विवाहपछि उनी परिवारसहित देशविदेश घुमघाममा व्यस्त छिन् । रियाशा नभएपछि सिरियलले अन्य कलाकारलाई लिएर श्रृंखला खिचिरहेको छ । तर उनको नाम हटाइँदा पुतलीको भूमिकामा नयाँ कलाकार आउन लागेको हो कि भन्ने अनुमान दर्शकले गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।