Main

भैरव पुरस्कार गुठीले तीनजनालाई पुरस्कृत गर्ने

१ असोज, काठमाडौं। नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार तीन जनालाई प्रदान गरिने भएको छ । मंगलबार भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले उक्त पुरस्कारको सूची सार्वजनिक गरिएको हो।

गुठीका अध्यक्ष घिमिरेका अनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।

यस्तै भैरव वाङ्मय पुरस्कार कोषकार चुडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ। उक्त पुरस्कारको राशि पनि १ लाख १ हजार १ सय ११ रुपैयाँ नै रहेको छ ।

यस्तै भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको वरिष्ठ साहित्यकार रोचक घिमिरेले जानकारी दिए । उनका अनुसार भैरव प्रतिभा पुरस्कारको राशि भने ५१ हजार १ सय ११ रुपैया रहेको छ ।

पुरस्कार पाउनेहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको चयन समिति गठन गरेको थियो ।

भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शनिबार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा कार्यक्रम गरेर पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button