Main

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चानल गर्न सरकार प्रतिबद्ध  : मन्त्री पाण्डे

८ मंसिर,बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु नियमित र दिगोरुपमा सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले शनिबार भैरहवामा गरेको विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रियामा मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका हुन् ।

नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएकाले आशंका नगर्न मन्त्री आग्रह गरे । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा २ पटक भैरहवा आउने बताए ।

‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’, उनले भने, ‘संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो मन्त्रालय चलाऔं भन्नेमा लागेको छु, मेची महाकालीको बीचमा रहेको ठाउँ, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउने कुरा प्राथमिकतामा छ ।’

मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको ‘इपिसेन्टर’ बन्ने अपेक्षा राखे । उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भइसकेकाले अब प्रधानमन्त्रीस्तरीय बैठक बसेर कार्यान्वयन गरिने बताए ।

गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू लुम्बिनीमा नियमित आउने बताए । उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचिबद्ध गरेर गर्ने समेत बताए । उनले भैरहवाको विमानस्थल सञ्चालन हुँनेवितिकै पोखरा पनि चल्ने विश्वास दिलाए ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले द्रूतगतिमा काम गर्नुपर्ने सुझाव स्वीकार्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताए । उनले होटल, गुम्बा र स्थानीयहरूका बीचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउँदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले विश्वका डेढ अर्ब बढी बुद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेकाले बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताए ।

उनले आफूले बुद्धिष्ट राष्ट्रका उच्च पदस्थहरुसँग भेटघाटमा विमान चलाउनका लागि आग्रह गरेको बताउँदै यसका लागि मन्त्रिपरिषद र मन्त्री तहबाट पहल हुनुपर्नेमा जोड दिए । उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषमा आफू आएदेखि २१ वटा विभिन्न बौद्ध पूजाहरु भएकाले अब लुम्बिनीमा यस्ता गतिविधि बढाउनका लागि स्थानीय, होटल व्यवसायी र सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन भएको एयरपोर्टलाई चलायमान बनाउन सक्दा पर्यटन प्रवद्र्वन हुने बताए । उनले निजी क्षेत्रले विमानस्थल चलाउनका लागि सहुलियत दिएर भएपनि दिगो सञ्चालनको वातावरण बनाउनुपर्ने बताए ।

उनले सरकारलाई श्रम समस्या, भिसा सेन्टर, स्वास्थ्य परीक्षण लगायतका कार्यालयहरू तुरून्त भैरहवामा स्थापना गर्न आग्रह गरे । ‘त्रिभुवन विमानस्थलको मर्मतको समयसम्म मात्रै चल्छ भन्ने मानसिकता त्यागौं, सबैले सकरात्मक रूपमा चलाउने वातावरण बनाऔं’, उनले भने ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले रुपन्देहीका १६ वटै स्थानीय तहरुसँग समन्वय गरेर विमानस्थल दीगो सञ्चालनका लागि आवश्यक वातावरण बनाउन तयार रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले पनि योगदान गर्ने गरी यात्रुहरूलाई सहुलियत दिने कार्यक्रम ल्याउन जोड दिए । उनले सरकारसँगै निजी क्षेत्रले पनि विमानस्थलको दीगो सञ्चालनका लागि भूमिका बढाउन आग्रह गरे ।

सिद्वार्थनगर नगरप्रमुख ईस्तियाक मोहम्द खानले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि योजना बनिरहेको बताए । विश्वका बौद्वमार्गीहरूलाई लुम्बिनी ल्याउने गरी वातावरण बनाउन सके नियमित उडान गर्न सकिने बताए ।

कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले ५ वटा विमान कम्पनीहरुले नियमित उडान गरिरहेको बताए । उनका अनुसार अहिलेसम्म २ हजार ५९३ जना यात्रुले आवत–जावत गरेको र ३ हजार २५ यात्रुहरुले ट्राजिन्ट गरेका छन् । गौतमबुद्ध विमानस्थलबाट कात्तिक २३ देखि ५ वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button