Main

महाराष्ट्र विधानसभा : भाजपा गठबन्धनले जित्नुका ७ कारण

९ मंसिर, काठमाडौं । विगत पाँच वर्षको अवधिमा भारत महाराष्ट्रको राजनीति नाटकीय घटनाक्रमले भरिएको छ । यस बीचमा तीन मुख्यमन्त्री बदलिए । साढे दुई वर्ष अघि सत्ता पलट भयो । प्रमुख दुई दलमा विद्रोह भयो । र, अहिलेको विधानसभा निर्वाचनमा अप्रत्यासित नतिजा आयो ।

भाजपा नेतृत्वको महायुति गठबन्धन (भाजपा, एकनाथ शिन्दे नेतृत्वको शिव सेना र अजित पवारको एनसीपी)ले प्रचण्ड बहुमतका साथ सत्ता सुरक्षित गरेको छ । सत्तापक्ष एनडीएको महाराष्ट्र गठबन्धन महायुतिले २३५ सिट जितेको छ । विपक्षी गठबन्धन (महाविकास अघाडी) ले ४९ र यी दुई गठबन्धन बाहेकका अन्य ४ उम्मेदवारले चुनाव जितेका छन् ।

भाजपा एक्लैले १३३ सिट जितेको छ । एकनाथ शिन्दे नेतृत्वको शिव सेनाले ५७ र अजित पवार नेतृत्वको एनसीपीले ४१ सिट जितेको छ । अर्थात् भाजपा महाराष्ट्रमा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ ।

केबल पाँच महिना अघि मात्रको कुरा हो, लोक सभा निर्वाचनमा भाजपालाई उत्तर प्रदेशपछि सबैभन्दा ठूलो झड्का महाराष्ट्रमा लागेको थियो । ४८ सिटको लोकसभामा भाजपा नेतृत्वको एनडिएले जम्मा १७ सिट जितेको थियो । तर अहिले विधानसभा निर्वाचनमा भने भाजपाले महाविकास अघाडी (उद्धव ठाकरे नेतृत्वको शिव सेना, कांग्रेस र शरद पवारको एनसीपी)लाई पछार्न सफल भएको छ ।

यहाँ भाजपा नेतृत्वको महायुति गठबन्धनले जित्नुका ६ कारणबारे चर्चा गरिएको छ–

१. ‘प्यारी बहिनी’ योजना

लोक सभा चुनावपछि नै भाजपाले राज्यमा कोर्स करेक्सन सुरु गरेको थियो । त्यसैले २८ जुन २०२४ मा ‘मेरी प्यारी बहिनी’ योजना सुरु गरियो । यो योजना अनुसार वार्षिक आय २.५ लाख भन्दा कम भएका परिवारका २१ देखि ६५ वर्षसम्मका महिलालाई प्रत्येक महिना १५०० रुपैयाँ दिन थालियो । साथै सत्तामा फर्किएमा यसलाई बढाएर मासिक २१ सय रुपैयाँ दिने आश्वासन दिइयो ।

राज्यमा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै भएकाले ती महिलाको भोट तान्ने उद्देश्यले यो योजना सुरु गरिएको थियो र त्यसमा भाजपा सफल पनि भयो ।

इण्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार यस योजनाको लाभ राज्यका २.२५ करोड महिलासम्म पुग्यो, जुन कुल जनसंख्याको ५५ प्रतिशत थियो । विगत चार महिनाको अवधिमा महिलाहरुको खातामा ७ हजार ५०० रुपैयाँ जम्मा भइसकेको थियो । दिपावलीको बोनस भनेर थप ३०० हजार रुपैयाँ पनि दिइएको थियो । जानकारहरुका अनुसार यो योजनाले महिला मतदातामा राम्रो असर देखिएको थियो ।

यसलाई देखेर प्रतिस्पर्धी दलले ‘महालक्ष्मी योजना’ अघि सारेका थिए । र, महिलालाई मासिक ३ हजार रुपैयाँ दिने आश्वासन दिइएको थियो । तर त्यो घोषणा निकै ढिलो भइसकेको थियो ।

२. हिन्दुत्व फ्याक्टर 

महाराष्ट्र विधानसभा निर्वाचनमा भाजपाले ‘बटोगे तो कटोगे’ अर्थात् ‘विभाजित भयौ भने सिद्धिन्छौ’ भन्ने नारा दिएको थियो । यो नारा भाजपाको हिन्दुत्व ब्राण्ड मानिने उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नारा थियो । यो नारालाई राष्ट्रिय स्वयंसेवक संघ (आर.एस.एस.)ले ब्यापक प्रचारमा ल्यायो ।

प्रधानमन्त्री नरेन्द्र मोदी

साथै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘एक रहोगे तो सेफ रहोगो’ अर्थात् ‘एकजुट भएमा सुरक्षित हुनेछौ’ जस्ता नारा दिए । यसले हिन्दु मतदाताहरुलाई एकजुट बन्न मद्दत मिलेको अनुमान छ ।

यद्यपि भाजपा गठबन्धनका नेताहरु अजित पावर, अशोक चव्हाण र पंकजा मुण्डेले यो नाराले महाराष्ट्रका जनतालाई आकर्षित नगर्ने बताएका थिए । तर भाजपा पछि हटेन ।

त्यतिमात्र होइन भाजपाले पटकपटक शिवाजी महाराज र औरंगजेबको नाममा हिन्दु भोटलाई एकत्रित गर्ने कोसिस जारी राखेको थियो ।

३. ओबीसी जाति एकजुट

मराठा आरक्षणको मागका कारण भएको आन्दोलनले भाजपालाई लोक सभा चुनावको बेला घाटा लागेको थियो । भाजपाले मराठावाडा क्षेत्रबाट एक सिट पनि जितेको थिएन । मराठा आरक्षण आन्दोलनको नेतृत्व गर्दै आएका जरांगे पाटिलले ४ अगष्ट २०२४ मा भनेका थिए– विधान सभामा निर्वाचनमा स्वतन्त्र रुपमा लड्छु । साथै सबै सिटमा उम्मेदवार खडा गर्ने घोषणा पनि उनले गरेका थिए । तर पछि उनी चुनाव लडेनन् । कतिपयले भाजपाबाट केही राहत पाएपछि उनी चुप लागेको अनुमान गर्छन् ।

यसका साथै मराठा आन्दोलनलाई मध्यनजर गर्दै भाजपाले ओबीसी जाती अर्थात् पिछडा वर्गलाई एकजुट बनाउन सुरु गरेको थियो । इण्डियन एक्सप्रेसका अनुसार महाराष्ट्रमा पिछडा वर्गको जनसंख्या ३८ प्रतिशत छ जुन १७५ सिटमा जितहारका लागि निर्णायक मानिन्छ । तर यिनै पिछडा वर्ग अहिले भाजपाको ठूलो भोट बैंक बनेका छन् ।

४. एकजुट गठबन्धन

परम्परा, प्रतिष्ठा र अनुशासन यी गुरुकुलका तीन आधार स्तम्भ हुन् । महाराष्ट्रयको विधानसभा निर्वाचनमा पनि यही कुरा मेल खायो । भाजपादेखि लिएर शिन्दे गुट र अजित पवारको एनसीसी अनुशासित देखिए । भलै मुख्यमन्त्रीको विषयमा धेरै सवालहरु उठे तर आपसमा टकरावको स्थिति देखिएन । भाजपा नेतृत्वको महायुति गठबन्धन एकजुट भयो र नतिजा पनि उनीहरुकै पक्षमा देखियो ।

५. दलित मतदाताको साथ

लोक सभा निर्वाचनमा दलित समुदायको धेरैजसो भोट महाविकास अघाडिको पक्षमा गएको थियो । किनभने त्यतिबेला भाजपाले बहुमत ल्याएमा संविधान संशोधन गरेर दलितको अधिकार खोस्ने प्रचार गरिएको थियो । जानकारहरुका अनुसार यसपटक त्यस्तो केही भएन  । महायुति सरकारले सर्वोच्च अदालतले अनुसूचित जातिको उपवर्गीकरणका लागि गरेको फैसलालाई लिएर कमिटी गठन गरिदियो । महाराष्ट्रमा दलितहरुमा पनि नव–बौद्धहरुको प्रभुत्व मानिन्छ ।

जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर हरिश वानखेडे भन्छन्– महाराष्ट्रमा कांग्रेसलाई ठूलो बनाउन नव–बौद्ध दलितहरुमा पनि खासगरी महाडहरुको योगदान थियो । यस चुनावमा पनि कांग्रेसलाई दलितहरुकै धेरै भोट गएको छ । यसका अलावा नव–बौद्धको अलावा अन्य दलित जातिहरुको साथ पहिलेदेखि नै भाजपालाई रहँदै आएको छ । यसपटक पनि उनीहरु विभाजित नभई भाजपालाई साथ दिएका छन् ।

६. आरएसएसको भरपुर साथ

भारतका राजनीतिक विश्लेषकहरुका अनुसार लोक सभा निर्वाचनमा भाजपा र आरएसएसबीच जुन खालको खाडल थियो त्यो यसपटकको विधानसभा निर्वाचनमा रहेन ।

इण्डियन एक्सप्रेसको एक रिपोर्टअनुसार आरएसएसले तल्लो तहमा चुनावी अभियानलाई पूर्णरुपमा सम्हाल्न सफल भएको थियो । आरएसएससँग सम्बन्धित ३५ संगठनहरुले भाजपा र उसका सहयोगी दलहरुलाई सक्रिय रुपमा साथ दिएर चुनाव प्रचार गर्‍यो ।

आरएसएसका एक नेताले भनेका छन्, ‘हामीले चुनावलाई गम्भिरतापूर्वक लिएका थियौं । हाम्रा कार्यकर्ताहरु मतदाताको दैलो–दैलोमा पुगेका थिए ।’

चुनाव प्रचारमा संलग्न अर्का एक आरएसएसका नेताले इण्डियन एक्सप्रेससँग भनेका छन्, ‘आरएसएसको गुप्त अभियानले भाजपाका सन्देश तल्लो तहका मतदातासम्म पुर्‍याउन मद्दत गरेको थियो । यो काम लोकसभाको चुनावलगत्तैदेखि सुरु गरिएको थियो ।’

७. महाविकास अघाडीका गल्ती

विधानसभा निर्वाचनमा भाजपा र उसका सहयोगी दलहरुले जित्नुको पछाडि महाविकास अघाडी गठबन्धनका दलहरुबीचको कमजोरी पनि मुख्य कारणको रुपमा रह्यो । जानकारहरुका अनुसार महाविकास अघाडीमा गुटगत गतिविधि धेरै थियो । कहिले मुख्यमन्त्री पदलाई लिएर त कहिले सिट बाँडफाँटलाई लिएर आन्तरिक विवाद सार्वजनिक हुने गरेको थियो । त्यही आन्तरिक विवादमा भाजपा खेल्न सकेको विश्लेषकहरु बताउँछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button