Main

महिला लिग छनोटमा कर्णाली तेस्रो जितसहित शीर्ष ३ मा

१६ वैशाख, काठमाडौं । महिला लिग छनोटमा कर्णाली प्रदेशले लुम्बिनीमाथि ४–१ को जित दर्ता गरेको छ । यो जितसहित कर्णाली प्रदेश अंक तालिकाको शीर्ष ३ मा उक्लिएको छ ।

सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कर्णालीका सुनकला राईले २ गोल गरिन् । वर्षा वली र सञ्जिता बम्जोङले समान १/१ गोल गरे ।

लुम्बिनीको लागि भने कप्तान ममता पुनले गोल फर्काइन् ।

पहिलो हाफमा सुनकलाको २ गोलले अग्रता लिएको थियो । सुनकलाले १८औं मिनेट र ३७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाएकी हुन् ।

दोस्रो हाफमा भने लुम्बिनीकी कप्तान ममताले ६७औं मिनेटमा गोल गर्दै अन्तर घटाइन् ।

कर्णालीका लागि सञ्जिताले ७५औं मिनेटमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा अगाडि बढाइन् । त्यस्तै वर्षाले खेलको ८४औं मिनेटमा गोल गर्दै कर्णालीको लागि निर्णायक गोल गरिन् ।

कर्णालीले लिग चरणको ४ खेलमा ३ खेल जित्दै ९ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

अंक तालिकामा कोशी प्रदेश शीर्ष स्थानमा रहेको छ भने सुदुरपश्चिम दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेश ३ अंकसहित पाँचौं स्थानमा छ । यस लिगका शीर्ष ३ ले अन्तिम चरणको महिला लिग खेल्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button