Main

महिला सशक्तीकरणबारेको सांगीतिक फिल्म ‘चल्ने हावालाई’

काठमाडौं । महिला सशक्तीकरणको विषयमा बनेको सांगीतिक फिल्म ‘चल्ने हावा’ सार्वजनिक भएको छ । संगीता श्रेष्ठ निर्देशित सांगीतिक फिल्मलाई काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सार्वजनिक गरिन् । गीतमा सरु पराजुलीको स्वर र शिव चम्लागाईंको शब्द तथा संगीत छ ।

उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले उद्देश्य बोकेर संघर्ष गरेमा सफलता हात पर्ने भन्दै प्रशंसा गरिन् । ‘म आफैं पनि बाल्यकालमा संघर्ष गरेर स्कुल पुगेकी थिएँ । आफ्नो मेहनतले वर्षौंदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरें । त्यसैले हामीले आफ्नो उद्देश्य र त्यसलाई प्राप्त गर्ने संघर्ष छोड्नु हुँदैन,’ उनले भनिन् ।

‘यहाँ छोरीले गर्न सक्दिनन् कि भन्ने सोच्ने नभएका होइनन् तर हामीले उनीहरूलाई काम गरेर देखाउनुपर्छ । यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको सन्देश प्रवाह हुन्छ,’ उनले भनिन् ।

उपसभामुख रानाले आफ्नो बाल्यकालको संघर्ष, काठमाडौं आएपछिको अवस्था र अहिलेसम्मको यात्रा कुनै फिल्मभन्दा कम नभएको भन्दै निर्देशक श्रेष्ठलाई प्रेरणादायी सर्ट फिल्म निर्माणका लागि सोच बनाउन आग्रह गरिन् ।

निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’मार्फत छोरीलाई छोरा झैं समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन् । ‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौं ? के उनीहरूमा योग्यता छैन र ? कि हाम्रो सोच नै अयोग्य छ ? यस्ता विषयमा सोच्नुपर्ने समय आएको छ,’ श्रेष्ठले भनिन्, ‘यो गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रुपमा तयार गरेका हौं । छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनैपर्छ ।’

कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी समृद्धि श्रेष्ठले उक्त गीत लाइभ गाएकी थिइन् । गीतमा सञ्चिता लुईंटेल, बेनिशा हमाल, गजित बिष्ट, सोनिका बाँस्तोला, थमनसिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक श्रेष्ठको कामदेखि आफू प्रभावित भएको भन्दै अभिनेता बिष्टले प्रशंसा गरे । ‘मैले संगीताजीसँग कथा प्रेमका नामक शृंखलामै काम गरेको थिएँ । त्यस समयदेखि नै उहाँले निर्माण गर्ने फिल्म, शृंखला वा म्युजिक भिडियो भएपनि त्यसमा मनोरन्जनसँगै सन्देश हुन्छ । यो हेर्नका लागि मात्र नभई हाम्रो सोचाइ परिवर्तन गर्ने भिडियो बनेको छ,’ उनले भने ।

म्युजिकल फिल्म हेरिसकेपछि नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीत-संगीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए ।

‘मैले आफू महानिरीक्षक हुँदा महिलालाई लक्षित गर्दै विभिन्न कार्यक्रम ल्याएको थिएँ । उनीहरूलाई अवसर नदिएसम्म क्षमता मापन गर्न सक्दिन् । यो भिडियोले दिएको सन्देशलाई म एउटा छोरीको बाबु भएकाले महसुस गर्न सक्छु,’ खनालले भने, ‘राष्ट्रको सेवा गर्ने सोच छ भने नेता, मन्त्री वा समाजसेवी बन्छु भन्नेसँगै प्रहरी बन्छु भन्ने पनि सोच बनाउनुस् । यहाँ धेरै अवसर छन्, जसमार्फत समाजलाई सही बाटोमा हिंडाउने सँगै न्याय दिलाउने भूमिका निर्वाह गर्न सकिन्छ ।’

गीतको भिडियोमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पूरा गर्न गरेको संघर्षलाई देखाइएको छ । उनको पात्रमार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट वञ्चित गराउने कारण, लैंगिक विभेदजस्ता पक्षलाई देखाइएको छ ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button