मे २५ मा विश्व फुटबल दिवस मनाइने

२७ वैशाख, काठमाडौं । मे २५ मा विश्व फुटबल दिवस मनाइने भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने संकल्प पारित गरेपछि अब समर्थकहरूले विश्वकै सबैभन्दा चर्चित र धेरै हेरिने खेललाई उत्सवका रूपमा मनाउन पाउनेछन् ।
यस खेललाई संयुक्त राज्य अमेरिकामा सकर भनिन्छ ।
फुटबलको आधिकारिक प्रतियोगिताको सुरुवात भएको दिनको अवसर पारेर फुटबल दिवस मनाउन लागिएको हो । सन् १९२४ मे २५ मा पेरिसमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिक खेलका क्रममा सबै क्षेत्रको प्रतिनिधित्वसहित इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना भएको थियो ।
१९३ सदस्यीय महासभाका अध्यक्ष डेनिस फ्रान्सिसका अनुसार सभाकक्षमा रहेका कूटनीतिज्ञहरूको ताली बजाएर सर्वसम्मतका साथ उक्त प्रस्ताव पारित गरेको हो । यसलाई १६० भन्दा बढी देशद्वारा सहप्रायोजन गरिएको थियो ।
प्रस्ताव पेस गर्ने लिबियाका लागि संयुक्त राष्ट्रका राजदूत ताहेर एल-सोन्नीले सभालाई भने, ‘फुटबल वा सकरलाई अरूले विश्वभर खेलिएको र पछ्याइएको नम्बर एक खेल मान्छन् ।’
तर उनले फुटबल सडक, गाउँ, विद्यालय र आँगनमा मनोरञ्जनका लागि र प्रतियोगितामा सबै उमेर समूहले खेल्ने खेल मात्र नभएको पनि जोड दिए ।
खेलकुदको संसारमा यसको ‘अतुलनीय स्थिति’ को कारण एल-सोन्नीले भने, ‘फुटबलले राष्ट्रिय, सांस्कृतिक र सामाजिक आर्थिक अवरोधहरू पार गर्दै विश्वभर बोलिने विश्वव्यापी भाषाको रूपमा काम गर्दछ ।’
पारित संकल्पले मे २५ मा सबै राष्ट्रहरू, संयुक्त राष्ट्र संघका निकायहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, शिक्षाविद्हरू, नागरिक समाज र निजी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताहरू अनुरूप विश्व फुटबल दिवस मनाउन आमन्त्रण गरिएको छ । साथै शैक्षिक र जनचेतना जगाउने गतिविधिहरू लगायत सबैका लागि फुटबलका फाइदाहरू फैलाउन पनि आग्रह गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।