मोती जयन्तीमा विश्वव्यापी गजल प्रतियोगिता

काठमाडौं । १५९औँ मोती जयन्तीको अवसरमा विश्वव्यापी गजल प्रतियोगिता आयोजना हुँदैछ । नेपाल गजल प्रतिष्ठानको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सहभागी हुन चाहने गजलकारहरूले आफ्नो प्रतियोगी गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी २०८१ साउन २५ गतेसम्म [email protected] मा पठाइसक्नुपर्ने छ ।
प्रतियोगी गजल शुद्ध नेपाली भाषामा (देवनागरी लिपिमा) लेखिएको ५ शेरको हुनुपर्ने र कुनै पनि शेरमा गजलकारको नाम वा तखल्लुस् प्रयोग गर्न पाइने छैन ।
गजल पूर्णत: मौलिक हुनुपर्ने, छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित/प्रसारित र कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्नेछ ।
एउटै गजलकारको एकभन्दा बढी गजल सहभागिताका लागि प्राप्त भएमा पहिलोपटक प्राप्त एउटा गजललाई मात्र प्रतियोगी गजल मानिने छ ।
प्रतियोगितामा नेपाल गजल प्रतिष्ठान कार्यसमितिका सदस्यहरूबाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहेका इच्छुक नेपालीभाषी गजलकारहरूले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको नतिजा २०८१ भदौ १५ गतेका दिन सार्वजनिक गरिने छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुने विजेता गजलकारको गजलसङ्ग्रह प्रकाशन गरिनेछ । उत्कृष्ट ५ गजलकारहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।