Main

यी हुन् प्रवासीका लागि सबैभन्दा उत्कृष्ट र खराब १० सहर

विश्वको सबैभन्दा ठूलो प्रवासी नेटवर्कको रुपमा रहेको इन्टरनेसनले हरेक वर्ष बसोबासका लागि उत्कृष्ट तथा खराब सहरहरुको सूची प्रकाशित गर्ने गर्दछ । जसअन्तरगत पछिल्लोपटक उसले गरेको सर्भेका आधारमा प्रवासीहरुलाई बस्नका लागि विश्वका सर्वाधिक उत्तम तथा खराब सहरहरुको सूची सार्वजनिक भएको छ । जसअन्तर्गत उत्कृष्ट १० तथा खराब १० सहरहरु यी हुन् :

प्रवासीका लागि सबैभन्दा उत्कृष्ट १० सहर

१०. मस्कट, ओमान : यद्यपि तपाईंको मानसपटलमा मध्यपूर्वको यो सहर प्रवासीहरुका लागि संसारकै सबैभन्दा उत्तम सहरको रुपमा पर्छ भन्ने कल्पना नहुन सक्दछ । मस्कट सहर सुलभ तथा सजिलोसँग फेला पर्ने सस्तो आवासका लागि विश्वकै दोस्रो सर्वोत्कृष्ट सहरको रुपमा रहेको छ । त्यस्तै व्यक्तिगत सुरक्षाको मामिलामा तेस्रो र बैंक अकाउन्ट खोल्ने सहजताको मामिलामा दोस्रो स्थानमा रहेको छ ।

९. बैंकक, थाइल्याण्ड : यदि तपाईंले न्यून लागतको जीवन निर्वाह, सस्तो आवासको विकल्प तथा उत्कृष्ट सामाजिक जीवन चाहनुहुन्छ भने बैंकक सहर तपाईंको लागि उत्तम रोजाइ बन्न सक्छ। यद्यपि त्यहाँको बसोबास सहज हुनुका साथै स्थानीय मानिसहरुको मित्रवत व्यवहार प्रसंशनीय भएता पनि सरकारी सेवा तथा स्थानीय कर्मचारीतन्त्रको कार्यशैली भने चित्तबुझ्दो छैन । साथै कार्यसंस्कृति तथा सन्तुष्टिको तह पनि त्यहाँ निकै कम देखिन्छ।

८. क्वालालम्पुर, मलेसिया : यो एसियाली सहर पनि प्रवासीहरुको अर्को उत्कृष्ट गन्तव्य हो । व्यक्तिगत वित्तको मामिलामा यो विश्वकै चौथो उत्कृष्ट सहरको रुपमा रहेको छ र त्यहाँ काम गर्ने ८० प्रतिशत मानिसले आफ्नो कमाइ राम्रो रहेको बताएका छन् । साथै साथीसँगीसँग भेटघाटका लागि समेत यो उत्तम ठाउँ हो । तर व्यक्तिगत सुरक्षा, राजनीतिक अस्थिरता र सार्वजनिक यातायात भने त्यहाँका मूख्य समस्याहरु हुन् ।

७. मेक्सिको सिटी, मेक्सिको : यो सहर अत्यधिक मित्रवत मात्र होइन सस्तो र घरजस्तै अनुभूति गराउने सहर हो । त्यहाँ धेरै मानिस काम गर्न रुचाउँछन्, किनकि दैनिक ज्याला भुक्तानी हुन्छ । साथै खानपिनको विकल्पको मामिलामा यो सहर नम्बर वान छ भने संस्कृतिक र रात्रिजीवनमा पनि अग्रस्थानमा रहेको छ । तथापि यो सहर व्यक्तिगत सुरक्षाको मामिलामा विश्वकै सबैभन्दा खराब सहरको रुपमा रहेको छ भने स्वास्थ्य सेवा पनि कमजोर छ।

६. म्याड्रिड, स्पेन : स्पेनको राजधानी सहर म्याड्रिड अर्को स्पेनी सहर बार्सिलोनाभन्दा कम लोकप्रिय हुनसक्छ तर जीवनयापनको मामिलामा भने यो उत्कृष्ट छ । आराम गर्ने विकल्पहरु, संस्कृति तथा रात्रि जीवनलगायतका विषयमा प्रवासीहरुको रोजाइमा पर्छ म्याड्रिड । यसका साथै मित्रवत स्थानीयहरु, उत्कृष्ट सार्वजनिक यातायात तथा स्वास्थ्यसेवा पनि म्याड्रिडका सबल पक्ष हुन् । तर रोजगारी गर्ने मामिलामा भने म्याड्रिड आप्रवासीहरुका लागि खासै उत्कृष्ट गन्तव्य होइन र यसका लागि रोजगारीको कमजोर सुरक्षा र कमजोर स्थानीय अर्थतन्त्र जिम्मेवार छन् ।

५. अबुधाबी, यूएई : मरुभूमिको यो भविष्यवादी सहरले प्रवासीहरुको रोजाइका मामिलामा आफ्नो भगिनी सहर दुबइलाई पनि पछि पारेको छ। कारका लागि विश्वकै सबैभन्दा उत्कृष्ट पूर्वाधार हुनुका साथै सुपथ स्वास्थ्य सेवा र आवतजावत गर्नका लागि सहजताले गर्दा यो सहर धेरै प्रवासीको रोजाइमा पर्दछ । अबुधाबी प्रवासीहरुका लागि उत्कृष्ट सहरमा पर्नुका कारणमा भिसा प्राप्त गर्न सहज, स्थानीय बैंकमा खाता खोल्न सहजता र स्थानीय भाषा बोल्ने झण्झटनै नभएको दुनियाँकै सजिलो सहरको रुपमा रहनु हो ।

४. रास अल खैमाह, यूएई : प्रवासीहरुका लागि बस्नयोग्य सहरको चौथो स्थानमा रहन सफल यूएईको रास अल खैमाह सहर भिसा प्राप्त गर्ने सहजता र सस्तो आवासको उपलब्धताको दृष्टिले पहिलो स्थानमा रहेको छ। साथै जागिरप्रतिको सन्तुष्टि र करिअर विकल्पमा पनि यो सहर अग्रस्थानमा रहेको छ। साथै प्रवासीहरुले यो सहरमा सजिलैसँग साथी बनाउन सकिने र घरजस्तै अनुभूति हुने बताएका छन् । तथापि सार्वजनिक यातायात, रात्रि जीवन र प्राकृतिक वातावरणको सीमितता त्यहाँका कमजोर पक्ष हुन् ।

३. भ्यालेन्सिया, स्पेन : स्पेनको तेस्रो ठूलो सहर भ्यालेन्सिया जीवनको गुणस्तरको मामिलामा त विश्वकै पहिलो स्थानमा छ । त्यहाँको स्वास्थ्यसेवा उत्कृष्ट हुनुका साथै सस्तो पनि छ । पर्याप्त मनोरञ्जन गतिविधिको उपलब्धता, खानेकुरा र रात्रि जीवनमा पनि यो सहर सर्वोत्कृष्ट रहेको छ। मानिसहरु मित्रवत हुनुका साथै आफ्नो सामाजिक जीवनप्रति सन्तुष्ट छन् र त्यहाँ बसोबासका लागि निकै सहज छ । यद्यपि प्रवासीहरुका लागि रोजगारी अलिक कठीन मानिन्छ।

२. अलिकान्टे, स्पेन : यो घमाइलो स्पेनी सहर प्रवासीहरुका लागि सर्वाधिक बस्न योग्य सहरको सूचीमा दोस्रो नम्बरमा छ । यो भूमध्यसागरीय सहर सुपथ दरको आवासका साथै व्यक्तिगत वित्त, सामाजिक जीवन र मित्रवत व्यवहारका कारण उत्कृष्ट बनेको हो ।

१. मलागा, स्पेन : प्रवासीहरुका लागि सबैभन्दा धेरै बस्नलायक सहरको रुपमा स्पेनको मलागा सहर पहिलो नम्बरमा परेको छ । स्थानीय मानिसहरुको मित्रवत व्यवहार, जिवनयापनको खर्च तथा जलवायु र मौसम यसका प्रमुख कारणहरु हुन् । साथै मनोरञ्जनका पर्याप्त विकल्पले पनि मानिसहरुको जिवनको गुणस्तरमा बढोत्तरी गराएको छ ।

खराब सहरहरु

१०. सिओल, दक्षिण कोरिया : पछिल्लो समयमा पश्चिमा जगतमा आफ्नो सांस्कृतिक निर्यातका लागि कोरियाको लोकप्रिययता तीव्र रुपमा बढिरहेको छ, तर त्यहाँ बसोबास गर्नु चाहिं चुनौतिपूर्ण छ । यदि तपाईं कामका लागि सिओल जाँदै हुनुहुन्छ भने गम्भीर भएर सोंच्नुहोस् । किनकि काम र जीवनको सन्तुलनका साथै कार्यसंस्कृतिको मामिलामा सिओल संसारकै सबैभन्दा खराब सहरको रुपमा कुख्यात छ । साथै सिओल सहर बाहिरी मानिसहरुका लागि खासै स्वागत गर्ने खालको छैन भने त्यहाँको वायुको गुणस्तर पनि न्यून छ । तथापि स्वास्थ्य सेवा र सार्वजनिक यातायातको हकमा भने सिओल उत्कृष्ट छ ।

९. पेरिस फ्रान्स : दुनियाँमा रोमान्टिक गन्तव्यको कुरा गर्दा धेरैको मनमा आउने सहरको नाम हो पेरिस। तर पेरिसमा बस्ने विदेशीहरुले भने त्यहाँको जीवनलाई उसतो सहज मान्दैनन् । पेरिस विश्वमा सबैभन्दा कम मित्रवत् सहरको सूचीमा पाँचौ स्थानमा हुनुका साथै पेरिसमा बस्ने ६६ प्रतिशत प्रवासीहरुले फ्रेन्च बोल्न नजानेमा पेरिसमा बस्न समस्या हुने बताएका छन् । साथै ६१ प्रतिशत प्रवासीहरु जीवनयापनको उच्च लागतसँग संघर्ष गरिरहेका छन् । तथापि जागिरको सुरक्षा, खानपानका पर्याप्त विकल्पका साथै स्वास्थ्यसेवा पेरिसका सबैभन्दा राम्रो पक्ष हुन् ।

८. लण्डन, बेलायत : धेरैलाई विश्वास नलाग्न सक्छ, तरपनि दुनियाँमा धेरैको सपनाको सहरको रुपमा रहेको लण्डन प्रवासीहरुका लागि आठौँ सर्वाधिक खराब सहर रहेको छ । त्यहाँको सबैभन्दा खराब पक्ष भनेको जीवनयापनको लागत नै हो । ७४ प्रतिशत प्रवासीहरुले जीवनयापन महंगो भएको बताएका छन् भने ७९ प्रतिशतले आवास खरीद गर्न नसकिने खालको भएको बताएका छन् । त्यस्तै खराब मौसम र कमजोर स्वास्थ्य सेवा पनि लण्डनका खराब पक्ष हुन् । तथापि लण्डन पुगेकामध्ये ७५ प्रतिशत प्रवासीहरुले सो सहरले आफ्नो करिअरमा सहयोग गरेको र त्याँको कार्यसंस्कृति, सिर्जनशीलता र लचकता गज्जबको रहेको बताएका छन् ।

७. इस्तानबुल, टर्की : यो सहर निकै भव्य तथा जीवन्त भएता पनि त्यहाँ काम गर्ने आप्रवासीहरुले ज्याला, रोजागरीको सुरक्षा र स्थानीय अर्थतन्त्रको अवस्थाका विषयमा गुनासो गर्दछन् । साथै पैदलै हिंड्दा वा बाइकमा यात्रा गर्दा समेत मानिसहरुले त्यहाँ असुरक्षित महसुस गर्दछन् । साथै बैंक अकाउन्ट खोल्ने जस्ता प्रवासीहरुका आधारभूत विषयहरुमा समेत इस्तानबुल सहर निकै कमजोर छ । तथापि त्यहाँको मौसम र सजिलोसँग भिसा प्राप्त हुने कुरा भने इस्तानबुलको मनपर्ने पक्ष हो ।

६. डब्लिन, आयरल्याण्ड : यदि तपाईंले सस्तो जिवनयापन भएको सहर खोज्नुहुन्छ भन्ने डब्लिन राम्रो विकल्प होइन । किनकि व्यक्तिगत वित्तको मामिलामा यो सहर दोस्रो सबैभन्दा खराब स्थानमा छ भने आवासको मामिलामा सबैभन्दा पुछारमा, जुन महंगो मात्र होइन फेला पार्नै गाह्रो छ ।

५. बर्लिन, जर्मनी : यद्यपि बर्लिनको प्रतिष्ठा महान छ तर त्यहाँ बसोबास गर्नु निकै जटिल भएको अनुभव आप्रवासीहरुको छ । बस्ने घर फेला पार्नेदेखि घरमा उच्च गतिको इन्टरनेट प्राप्त गर्ने कुरा निकै कठीन छन् बर्लिनमा । बर्लिन विश्वकै दोस्रो सबैभन्दा कम मित्रवत सहर हो र ५७ प्रतिशतले बर्लिनमा साथी बनाउने कुरा निकै कठीन भएको बताएका छन् । तथापि त्यहाँको संस्कृृति, रोजगार बजार र अर्थतन्त्र भने बलियो पक्ष हो।

४. ह्याम्बर्ग, जर्मनी : यो जर्मन सहर प्रवासीहरुका लागि विश्वकै दोस्रो बेखुस सहर हो र बस्नका लागि सबैभन्दा खराब सहरको सूचीमा चौथो स्थानमा छ । त्यहाँ स्थानीय साथी बनाउन निकै कठीन हुनेमात्र होइन सामाजिक जीवन कमजोर हुनुका साथै सहयोगी मानिसहरु पाउन पनि गाह्रो छ । साथै आवास फेला पार्न कठीन हुनुका साथै जर्मन भाषाको ज्ञान नहुँदा समग्र जीवन नै कठीन हुने अनुभव प्रवासीहरुको छ । मानिसहरुमा आफ्नो जागिरप्रतिको सन्तुष्टि पनि कम छ । यद्यपि जागिरको सुरक्षा र रोजगार बजारको पर्याप्तता ह्याम्बर्गका बलियो पक्ष हुन् ।

३. भ्यान्कुभर, क्यानडा : सबैभन्दा सुन्दर तथा कम चिसो क्यानेडाली सहरको रुपमा रहेको भ्यान्कुभरमा प्रवासीहरुले भने सर्वाधिक बेखुस महसुस गर्दछन् । व्यक्तिगत वित्त निकै ठूलो समस्याको रुपमा रहेको छ भने दुई तिहाइभन्दा धेरै आप्रवासीहरुले आफ्नो पारिश्रमिक न्यायसंगत नभएको गुनासो गरेका छन् । साथै भ्यान्कुभरको जीवनयापनको खर्च पनि चर्को छ । आवास र साथी बनाउने कुरा त्यहाँका निकै कठीन विषय हुन् । साथै सांस्कृतिक र घुमफिरका विकल्प पनि कम हुँदा आप्रवासीहरुले झनै दिक्क महसुस गर्दछन् ।

२. रोम, इटाली : यो ऐतिहासिक युरोपेली सहरमा बसाइँ सर्ने सपना सबैको हुनसक्छ । तर यहाँ सोंचेजस्तो छैन । खासगरी यहाँ कामकाजीहरुलाई गाह्रो छ र त्यसको प्रमुख कारण कम ज्याला र न्यून रोजगारी सन्तुष्टि हो । त्यहाँको जीवनयापन सस्तै भएपनि मानिसहरु आफ्नो वित्तीय अवस्थाप्रति खुसी छैनन् । समग्र जीवनको गुणस्तरको मामिलामा पनि रोम खराब छ र त्यहाँको स्थानीय कर्मचारीतन्त्रप्रति मानिसहरु खुसी छैनन् । यद्यपि रोमको संस्कृति र रात्रि जीवन भने लोभलाग्दो छ ।

१. मिलान, इटाली : स्पेन र इटालीबीचमा त्यतिधेरै फरक होला भन्ने कसले पो सोंच्दोहो र । तर स्पेनका धेरै सहरहरु आप्रवासीहरु बस्नका लागि सबैभन्दा उत्कृष्ट बनिरहँदा इटालियन सहरहरु भने खराब सहरको सूचीमा परिरहेका छन् । यही मेलोमा अर्को इटालियन सहर मिलान आप्रवासीहरु बस्नका लागि विश्वको सबैभन्दा खराब सहर बनेको छ । रोजगारी, आवास खोज्ने काम, बैंक खाता खोल्ने काम तथा कर्मचारीतन्त्रसँग व्यवहार गर्ने कुरा त्यहाँका कठीन काम हुन् । त्यस्तै जागिरको सुरक्षा र कामको उचित पारिश्रमिकको मामिलामा पनि मिलान पुछारमा छ । साथै व्यक्तिगत आर्थिक अवस्था, सामाजिक जीवन तथा भौतिक सुरक्षाको विषय पनि मिलानका पेचिला विषय हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button