‘रंगेली २’ मा आर्यन सिग्देल ग्याङस्टर भूमिकामा देखिँदै

काठमाडौं । ‘रंगेली’को दोस्रो श्रृंखलाको शीर्षमध्येको एक भूमिकामा आर्यन सिग्देल देखिने भएका छन् । ‘रंगेली’को इन्डिङमा उनको अप्रत्याशित एन्ट्री भएको छ । चरित्र चित्रण हेर्दा, फिल्ममा सिग्देल भिलेनको भूमिकामा देखिनेछन् ।
दाजुको हत्याको बदला लिन उनको पात्रको प्रवेश भएको बुझ्न सकिन्छ । उनी ग्याङस्टर लुक्समा देखिएका छन् । ‘रंगेली’को कथावस्तुअनुसार दयाहाङ राई र आर्यनले दोस्रो श्रृंखलामा निरन्तरता पाउनेछन् ।
निर्देशक तथा पटकथा लेखक अर्जुन सुवेदीले दोस्रो श्रृंखला जतिसक्दो चाँडो निर्माण हुने बताए । ‘रंगेली’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।
वितरक गोविन्द शाहीका अनुसार रिलिजको दोस्रो दिन पनि फिल्मले देशभर उत्साहजनक ब्यापार गरिरहेको छ । शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी देखिएकोमा शनिबार पनि सोही अनुपात कायम रहेको वितरकको भनाई छ ।
शनिवार बिग मुभिजमा अभिनेता अर्पण थापा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए । सो क्रममा फिल्मको पात्र ‘भगवान् दादा’को रूपमा आफूलाई रुचाइएकोमा उनी प्रसन्न देखिए । निर्देशक सुवेदीले ‘सेकेन्ड हाफ’को कतिपय ट्वीस्टलाई दर्शकले रुचाएको बताए ।
शनिवार यो फिल्म हेर्न सरोज खनाल, केकी अधिकारी, प्रमोद अग्रहरी, दीपाश्री निरौला हलमा पुगेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।