राजु लामाले लण्डनमा हुने नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिने

काठमाडौं । मंगोलियन हार्टका गायक राजु लामाले बेलायतमा प्रस्तुति दिने भएका छन् । असार १ गते शनिबार मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा लामाले प्रस्तुति दिन लागेका हुन् ।
अमेरिकादेखि बेलायतको लण्डन पुगेका उनलाई हिथ्रो विमानस्थलमा आयोजक संस्थाकी अध्यक्ष सीता पुन लगायतले स्वागत गरे । सोही साँझ उनलाई फार्नबरोस्थित मगर भवनमा स्वागत समेत गरियो ।
केन्ट इभेन्ट गार्डेनमा हुन लागेको कन्सर्टमा लामाले आफ्ना हिट गीत गाएर दर्शकलाई मनोरञ्जन दिन लागेको जनाइएको छ । गायक लामाले लामो समयपछि बेलायतस्थित नेपाली समुदायमा प्रस्तुति दिने अवसरले आफू खुसी भएको बताए ।
उनले कार्यक्रममा सहभागी हुन बेलायतबासी सबै नेपालीलाई आग्रह समेत गरेका छन् । ‘एकताका लागि संगीत’ नारासहित हुन लागेको कार्यक्रम मध्यान्हदेखि राति ११ बजेसम्म हुने र चार हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको जनाइएको छ । लामाले हालै मध्यपूर्वका विभिन्न मुलुकमा कन्सर्ट गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।