राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन, उपेन्द्र र अनिता उत्कृष्ट

५ असार, काठमाडौं । नेपाल आर्मी छैठौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ कास्य जित्यो ।
नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब ५ स्वर्ण, ६ रजत र ५ कास्य साथ दोस्रो भयो । तेस्रो स्थानको बागमती प्रदेशले १ स्वर्ण, १ रजत र ६ कास्य हात पारेको छ ।
प्रतियोगितामा बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपीएफ गरी ६ टिमको सहभागिता थियो । बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन् । गण्डकीले २ रजत र ४ कास्य, सुदूरपश्चिमले १ रजत र ३ कास्य तथा कोशीले १ कास्य जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपीएफकी अनिता कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाएका छन् ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, आयोजक फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा ११२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।