रिफाइन्ड तेल कसरी चिन्ने ?

खानेकुरा पकाउन रिफाइन्ड तेलको प्रयोग निकै हुन्छ । उच्च तापक्रम अर्थात् २०० डिग्री सेल्सियसमा उमालेर प्रशोधित गरिएको तेललाई रिफाइन्ड तेल सकिन्छ । यसमा तेलको गन्ध हटाउन र सफा देखाउन विभिन्न रसायन मिसाइएको हुन्छ । सरल भाषामा भन्दा प्राकृतिक तेलको प्रशोधित रूप हो रिफाइन्ड तेल ।
रिफाइन्ड तेलमा पोषक तत्व कम हुन्छ । कहिलेकाहीं प्रशोधन प्रक्रियामा गडबडी भएमा ट्रान्स फ्याट पनि बन्न सक्छ, जुन हानिकारक चिल्लो पदार्थ हो ।
विभिन्न खानेकुराबाट प्राप्त हुने भिटामिन ए, डी, ई र केलाई शरीरमा अवशोषित गर्न चिल्लो पदार्थको आवश्यक हुन्छ । त्यस्तै शरीरमा हुने विभिन्न हार्मोन उत्पादन र राम्रो कोलेस्टेरोल बन्नका फ्याटको आवश्यकता पर्छ, जसको प्रमुख स्रोत तेल हो । त्यसैले शरीरलाई स्वस्थ राख्न पौष्टिक खानाका साथै स्वस्थ तेल सेवन गर्नु जरुरी छ ।
कसरी चिन्ने ?
रिफाइन्ड तेलको प्याकेट वा बट्टामा रिफाइन्ड भनेर उल्लेख गरिएको हुन्छ, जुन सफा र गन्धरहित हुन्छ । नन-रिफाइन्ड तेल अर्थात् प्राकृतिक तेल लोकल मिलमा तयार गरिने भएकाले बाक्लो र केही गन्ध पनि हुन्छ । प्राकृतिक तेललाई बनाउँदा उच्च तापक्रम र रसायनको मिश्रण गरिएको हुँदैन । उदाहरणका लागि बजारमा पाइने भटमासको तेललाई रिफाइन्ड र तोरीको तेललाई नन-रिफाइन्ड भन्न सकिन्छ । तर भटमासको तेल मात्र रिफाइन्ड हुन्छ भन्ने हुँदैन ।
उच्च तापक्रम र रसायनको प्रयोग गरिएका सबै रिफाइन्ड तेल हुन् । नन-रिफाइन्ड तेलमा हुने पोषक तत्वहरु नष्ट हुँदैन । तर नन-रिफाइन्ड तेल पनि धेरै प्रयोग गर्नु चाहिं हुँदैन । प्राकृतिक तेलको अत्याधिक सेवन पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।
शरीरमा कस्तो असर गर्छ ?
प्राकृतिक वा रिफाइन्ड (प्रशोधित तेल) जुनसुकै तेला अत्याधिक सेवन गर्नाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले फ्याटी लिभर, मुटुको समस्या, मोटोपन र कोलोस्टेरोलको समस्या हुनसक्छ । तर हिजोआज मानिसहरु रिफाइन्ड र प्राकृतिक तेल नराम्रो र ओलिभ आयल स्वास्थ्यवर्द्धक भन्ने मानसिकता छ, जुन गलत हो । जुनसुकै तेलको अत्याधिक सेवनले स्वास्थ्यमा समस्या निम्त्याउँछ ।
रिफाइन्ड तेलको साइड–इफेक्ट
रिफाइन्ड तेलको धेरै प्रयोग गर्दा तौल बढ्ने र शरीरमा सुन्निने समस्या हुनसक्छ । रिफाइन्ड तेलमा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । जसले मुटुसँग सम्बन्धित रोगको जोखिम बढाउँछ । यसको सेवनले शरीरमा बोसोको मात्रा र एलडीएल कोलेस्टेरोल अर्थात् खराब कोलेस्टेरोल बढ्छ । जसले पछि मुटुको समस्या नै हुनेगर्छ । रिफाइन्ड तेलमा प्रयोग हुने रसायनले पनि क्यान्सर निम्त्याउन सक्छ । यसको प्रयोगले शरीरमा फ्याटी एसिडको कमी हुनसक्छ ।
कस्तो तेल प्रयोग गर्ने ?
प्राकृतिक रुपमा मिलमा तयार पारिएको तेलको प्रयोग गर्नु धेरै हदसम्म स्वास्थ्यवर्द्धक हुन्छ । जस्तै, जैतुनको तेल, तोरीको तेल, सोयाबिनको तेल र सूर्यमुखीको तेल प्रयोग गर्न सकिन्छ । साग र मासु पकाउनका लागि शुद्ध तोरीको तेलमा पकाउन सकिन्छ । दाल झान्दा तेलको प्रयोग नगरी घिउ प्रयोग गर्न सकिन्छ । केही खानेकुरा साँधेर खाँदा मिलमा बनाइएको भटमास र तोरीको तेल राखेर खान सकिन्छ । त्यसैले दैनिक एउटै प्रयोग नगरी फरक-फरक तेल प्रयोग गर्न सकिन्छ । त्यसैले सकेसम्म परम्परागत मिलमा बनाएको तोरीको तेल र कहिलेकाहीं रिफाइन्ड तेल मात्र प्रयोग गर्न सकिन्छ ।
कति खाने ?
रिफाइन्ड तेल मात्र नभई अत्याधिक तेलको सेवन गरेमा रिफाइन्ड नभएको तेलले पनि स्वास्थ्यमा हानि पुर्याउन सक्छ । त्यसैले सकेसम्म एकजना व्यक्तिका लागि दिनमा सानो चिया चम्चाले तीन-चार चम्चासम्म सेवन गर्न सकिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।