Main

रिलायबल लाइफ इन्स्योरेन्सको पूँजी बढ्दा प्रतिसेयर आम्दानी घट्यो

२३ माघ, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १ करोड ९ लाख रुपैयाँ बढी हो ।

गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद प्रिमियम आम्दानी १ अर्ब ७२ करोड रहेकोमा यो वर्षको सो अवधिमा १ अर्ब ७५ करोड रहेको छ । त्यस्तै लगानी तथा व्याजवापतको आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ४१ करोड १९ लाख रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ६३ करोड ९० लाख रुपैयाँ छ ।

कम्पनीको खुद नाफा बढ्दा प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्ष वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७२ पैसा रहेकोमा अहिले ११ रुपैयाँ ५५ पैसामा झरेको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि सेयर संख्या बढेसँगै प्रतिसेयर आम्दानी घटेको हो ।

कम्पनीको सेयर पूँजी ४ अर्ब पुगेको छ । बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीले पूँजी १ अर्ब बढाउनुपर्ने देखिन्छ । जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ तोकिएको छ ।  प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button