Main

रेसुङ्गा पार्कमा फ्रान्सका पर्यटक (तस्वीरहरू)

२२ कात्तिक, गुल्मी । रेसुङ्गा पार्कमा पहिलोपटक फ्रान्सका पर्यटक घुम्न आएका छन् ।

फ्रान्सबाट आएको ११ जनाको टोली अरबिन्द्र आश्रमसहित गुल्मीका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेको हो । उनीहरू रेसुङ्गा पार्कको पनि अवलोकन गरे ।

फ्रान्सबाट आएका पर्यटकलाई रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले ‘रेसुङ्गा पार्क’ सँगै रेसुङ्गा क्षेत्रको अवलोकन गराएकी थिइन् ।

अहिले नगरपालिकाले रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक लैजाने उदेश्यले ‘जाउ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ । अभियानकै कारणले रेसुङ्गा र पार्क घुम्न जानेको संख्यामा वृद्धि हुँदै आएको छ ।

पार्क पुगेका पर्यटकलाई रेसुङ्गा क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी समेत गराइएको थियो । फ्रान्सबाट घुम्न आएका पर्यटकले हामी नेपालमा ठूला घर भवन हेर्नभन्दा पनि नेपाली कला संस्कृति, डाँडाकाडा, प्रेम भावनालगायतको बारेमा अवलोकन गर्न आएको बताएका थिए ।

उनीहरूले आफ्नो संस्कार संस्कृति जोगाएर राख्न सुल्झाएका थिए । पार्क घुमेपछि फ्रान्सेली पर्यटकले पार्क अत्यन्तै रमणीय रहेको बताएका थिए ।

पार्क भित्रका विभिन्न संरचनासँग रमाएका थिए । पार्क पुग्नुपूर्व फ्रान्सबाट घुम्न आएका पर्यटकलाई रेसुङ्गा नगरपालिकाको कार्यालयमा उपप्रमुख कुँवर प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका कर्मचारी जनप्रनिधिले स्वागत गरेका थिए ।

पर्यटकलाई रेसुङ्गा नगरमा स्वागत गर्दै उपप्रमुख कुँवरले रेसुङ्गा नगरमा पटक पटक स्वागतका लागि सधैं आतुर रहेको बताएकी थिइन । ती पर्यटक रेसुङ्गा विमानस्थल हुँदै गुल्मी आएका हुन् ।

गुल्मी आएका पर्यटकलाई विमानस्थलमै पुगेर रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले स्वागत गरेका थिए ।

गुल्मी जिल्लामा पछिल्लोपटक हवाइ मार्गसँग जोडिएसँगै विभिन्न देशबाट गुल्मीका धार्मिक तथा पर्यटकीय स्थल घुम्न आउने पर्यटक बढेका छन् ।

दशैं तिहार विदाको समयमा रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा निर्माण भएको ‘रेसुङ्गा पार्क’ चहलपहल बढने गरेको छ । पछिल्लो समय रेसुङ्गामा जानेको संख्या वृद्धि भएसँगै पार्क घुम्न जानेहरुको संख्यामा पनि वृद्धि भएको छ ।

अहिले पार्क अवलोकन गर्न दैनिक जसो सयौंको संख्यामा घुम्न जाने गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाले सञ्चालनमा ल्याएको रेसुङ्गा पार्कमा पुग्ने अवलोकन कर्ताको संख्यामा वृद्धि भएको छ ।

गतवर्षको फागुन महिनादेखि नगरपालिकाले ४ जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।

पार्कभित्र भ्यूटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट रहेको छ । त्यस्तै बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग लगायतका निर्माणको काम भएको छ । जसले गर्दा पार्क सुन्दर र मनोरम बनेको छ ।

पार्कसँगै जीप लाइन र साइकिलिंङ निर्माणको लागि प्रक्रिया अगाडि बढेको छ । नगरपालिकाले यस आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

पार्क प्रवेश शुल्क विदेशी नागरिकको लागि १५० रुपैयाँ, नेपाली नागरिकको लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीको लागि २५ रुपैयाँ तोकिएको छ ।

पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा निर्माण भएको हो । पार्क ३.९६ हेक्टरमा फैलिएको छ । तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ ।

   

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button