ललितपुरको राष्ट्रपति रनिङ्ग शिल्ड पाटनको पोल्टामा

२३ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाको नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पाटन माध्यमिक विद्यालयले हात पारेको छ ।
उक्त विद्यालयले एक लाख नगद पुरस्कार सहित रनिङ्ग शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो ।
दोस्रोस्थान हरिसिद्धि माध्यमिक विद्यालयले प्राप्त गरेको छ । उक्त विद्यालयले ७५ हजार रुपैयाँ नगद सहित रनिङ्ग शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
तृतीय हुने ओमेगा माध्यमिक विद्यालयले ५० हजार रुपैयाँ सहित कप र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरस्कृत हुने विद्यालयलाई महानगरका प्रमुख चिरीबाबु महर्जनले नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरे ।
महानगरका क्लबहरुलाई नगद प्रदान
ललितपुर महानगरपालिकाले रनिङ शिल्डको पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर महानगर भित्र रहेका विभिन्न क्लबहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
पुरस्कृत हुनेमा ए डिभिजनमा रहेका थ्री स्टार क्लव, जावलाखेल युथ क्लब, फेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लबले चार लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।
बी डिभिजनमा रहेका च्यासल युथ क्लव, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लवले तीन लाख रुपैयाँका दरले प्राप्त गरेका छन् ।
सी डिभिजनमा रहेका सानेपा युथ क्लव, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लव र झम्सिखेल युथ क्लबलाई दुई लाखका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कार प्रदान गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले यस वर्ष आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यार्थी संख्या वृद्धि भएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।