लेभरकुजन लगातार ५० खेलमा अपराजित

३१ वैशाख, काठमाडौं । जर्मन बुण्डेसलिगाको उपाधि पक्का गरिसकेको बायर लेभरकुजनले अपराजित यात्रालाई ५० खेलसम्म पुर्याएको छ ।
बुण्डेसलिगाअन्तर्गत आइतबार राति दश खेलाडीमा समेटिएको बोचुमलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै लेभरकुजन ५० खेलसम्म अपराजित बनेको हो ।
लेभरकुजनलाई जित दिलाउन प्याट्रिक सिक, भिक्टोर बोनिफेस, अमिन आदिल, जोसिप स्टानिससिक र एलेक्स ग्रिमाल्डोले गोल गरे ।
खेलको १५औं मिनेटमै बोचुमका फेलिक्स पासलाकले रातो कार्ड पाउदै मैदान छाडेपछि लेभरकुजनले त्यसको फाइदा उठाएको थियो ।
लेभरकुजनले अब लिगमा अन्तिम खेल खेल्न बाँकी छ र आगामी शनिबार हुने अग्सवर्ग विरुद्धको उक्त खेलमा हार टारे अपराजित रहेर बुण्डेसलिगा जित्ने लेभरकुजन पहिलो टोली बन्नेछ ।
यसअघि बायर्न म्युनिखले १९८६-८७ र २०१२-१३ को सिजन उपाधि जित्दा एक खेल हारेको थियो ।
लेभरकुजनले लिग सकिएपछि २२ मे मा इटालियन क्लब एटलान्टासाग युरोपा लिगको फाइनल खेलन्छ । यस्तै त्यसको तीन दिनपछि जर्मनको कपको उपाधिका लागि बर्लिनमा काइजरलाटनसँग खेल्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।