वातावरण दिवसमा सांग्रिला साइकल र्याली, १५०० बढीको सहभागिता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने मूल नाराका साथ साइकल र्याली आयोजना गरेको छ ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बीवाईडी, एफवानसफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघ संस्थाहरूसँगको सहकार्यमा शनिबार र्याली सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकका सञ्चालक लिसा शेरचनले वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा जानकारी गराएसँगै साइकल र्यालीको सुरुवात गरिएको थियो ।
सानोगौचरन मैदानबाट सुरु भएको साइकल र्याली नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर सम्पन्न भएको थियो ।
साइकल र्यालीमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक, सेयरधनी, प्रवर्द्धक, प्रायोजक लगायतको सहभागिता रहेको थियो ।
बैंकले २०७९ सालमा पहिलो पटक आयोजना गरेको साइकल र्यालीमा १५० जनाको सहभागिता रहेको थियो । तर यसपटक भने १ हजार ५०० जनाभन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ ।
साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवम् साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्याका लागि चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
बैंकले सहभागीलाई टिसर्ट प्रदान गर्नुका साथै विभिन्न संस्थाका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध गराएको थियो ।
सहभागीमध्ये एक जना भाग्यशाली सहभागी भक्तपुरका रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्यालीमा उत्साहपूर्वक सहभागिताका लागि सबैमा धन्यवाद दिँदै र्यालीको समापन गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।