विद्युत् प्राधिकरणको ‘ओभरहेड’ संरचना हट्दा चिटिक्क न्युरोड (तस्वीर सहित)

४ मंसिर, काठमाडौं । अहिले न्युरोड पहिलभन्दा सफा देखिन्छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली मार्फत विद्युत् आपूर्ति थालेपछि काठमाडौं महानगरपालिकाले अनावश्यक पोल र तार हटाउन थालेको छ ।
प्राधिकरण प्रवक्ता चन्दन घोषका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन भइसकेको छ । यस्तो प्रणाली सञ्चालन भएका स्थानमा रहेका अनावश्यक पोल, ट्रान्सफर्मर, अन्य विभिन्न तार हटाउन थालिएको छ ।
प्राधिकरणका अनुसार उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माण पूरा भइसकेको छ । पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत वितरण प्रणाली सुरु भइसकेको छ ।
३ जेठ २०८१ मा प्राधिकरणले सूचना निकालेर ओभरहेड वितरण लाइन र विद्युत् पोल हटाउने भन्दै इन्टरनेट केबुल, अप्टिकल फाइबर, सीसीटीभी क्यामरा, सडक बत्ती लगायत संरचना र उपकरण ६ महिनाभित्र अनिवार्य हटाउन भनेको थियो ।

तोकिएको अवधिभित्र प्राधिकरणको पोलमा जडित इन्टरनेट केबुल, अप्टिकल फाइबर, सीसीटीभी क्यामरा, सडक बत्ती नहटे प्राधिकरणले पोल लगायत ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति जिम्मेवार नहुने जनाएको थियो ।
‘हामीले सूचना निकालेर ६ महिना समय दिएका थियौं । त्यसमध्ये काठमाडौं महानगरपालिकाले आफैं सक्रिय भएर विद्युत् प्रणाली नभएको पोल र त्यहाँ रहेको संरचना हटाउन थालेको छ । अन्य स्थानीय तह पनि सक्रिय भए न्युरोडको जसरी काम हुने थियो,’ घोष भन्छन्, ‘हाम्रै काम भए पनि काठमाडौं महानगरले सहयोग गरेको छ ।’

महानगरपालिकाले विद्युत् प्राधिकरणको सूचना अनुसार अनावश्यक संरचना हटाएको जनाएको छ ।
‘हामीले प्राधिकरणको अनावश्यक ओभरहेड संरचना हटाउन थालेका हौं । समन्वयमा काम भइरहेको छ । प्रयोगविहीन पोल, ट्रान्सफर्मर हटाउँदा पोलमा हालिएका तार हटेको छ । यसले सहर सुन्दर देखिएको छ,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने, ‘हालसम्म ४० भन्दा बढी पोल र १० भन्दा बढी ट्रान्सफर्मर हटाइसकेका छौं ।’




तस्वीरहरू : आर्यन धिमाल
– यस समाचारको श्रोत : Online Khabar हो ।