विराटनगर किङ्सको जर्सी सार्वजनिक
४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच टिमको आधिकारिक जर्सी र टिम गीत सार्वजनिक गरिएको हो ।
विराटनगरका मार्की खेलाडी सन्दीप लामिछानेले फरक शैलीमा जर्सी सार्वजनिक गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र टिम प्रवर्द्धक पारस लुनियाको उपस्थितिमा सन्दीप लामिछानेले जर्सी रिभेल गरेका हुन् ।
विराटनगरको जर्सीमा मुख्य रङ पहेंलो रहेको छ भने त्यसमा गाढा निलो रङको डिजाइन पनि छ ।
यसैगरी गायक कुशल पोख्रेलको शब्द र संगीतमा रहेको विराटनगर किंग्सको टिम एन्थम पनि सार्वजनिक गरिएको छ । फरक शैलीको टिम एन्थममा र्यापको प्रयोग भएको छ ।
त्यसैगरी गायिका रचना रिमाललाई ‘फेस अफ विराटनगर किङ्स’का रूपमा पनि सार्वजनिक गरिएको छ । रिमालले क्रिकेटलाई फलो गरिरहेको बताउँदै विराटनगरसँग जोडिन पाउँदा खुसी भएको बताइन् ।
विराटनगरले जर्सी सार्वजनिक गरेपछि एनपीएलमा सहभागि ८ वटै फ्रेन्चाइज टिमले आफ्नो आधिकारिक जर्सी लगायत टिम गीतहरु सार्वजनिक गरिसकेका छन् । अब टोलीहरू प्रतियोगिताको अन्तिम तयारीमा लागेका छन् ।
विराटनगरको टिममा सन्दीपसँगै प्रतिश जिसी, बासिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट, मृणाल गुरुङ छन्।
विदेशी खेलाडीहरूमा न्यूजिल्याण्डका ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान आकिब इलियास, क्यानडाका कप्तान निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलम छन् ।
एनपीएल आगामी मंसिर १५ गतेदेखि सुरु हुँदै छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।