Main

विश्वकपमा क्रिकेट क्रेनको एतिहासिक जित

२४ जेठ, काठमाडौं । कप्तान ब्राएन मासबा र युगाण्डाको क्रिकेट टिमले आफ्नो शैली र उत्साहमा टी–२० विश्वकपमा पहिलो जित सेलिब्रेट गर्‍यो ।

दशक लामो क्रिकेट यात्रामा टी–२० विश्वकपमा स्थान बनाउनु नै ठूलो सफलता थियो । तर विश्वकपको आफ्नो दोस्रो खेलमा ऐतिहासिक जित निकाल्न सफल भयो ।

तर वेष्ट इण्डिजको प्रोऐडेन्स स्टेडियमको यो खेल युगान्डा र पपुपा न्युगिनी दुवैका लागि खेल टी–२० विश्वकपमा आफ्नो पहिलो जित हात पार्ने अवसर थियो ।

२०२१ मा टी–२० विश्वकपमा डेब्यू गरेको पपुवा न्युगिनीले चार वटै खेल गुमाएको थियो । यो पटक पनि पहिलो खेलमा सहआयोजक वेष्ट इण्डिजसँग पराजित भएको थियो ।

पहिलो पटक टी–२० विश्वकप खेलेको युगाण्डा पनि आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

त्यसैले बिहीबार पुपवा न्युगिनी र युगाण्डामध्ये एकले टी–२० विश्वकपमा पहिलो जितको रेकर्ड बनाउने पक्का थियो । त्यसमा अफ्रिकन राष्ट्रले बाजी मार्‍यो ।

पपुवा न्युगिनीले दिएको ७८ रनको लक्ष्य युगाण्डाले १० बल अगावै ७ विकेट गुमाएर पूरा गर्‍यो ।

२.१ ओभरमा ६ रन जोड्दा ३ विकेट गुमाएको युगाण्डा ७ ओभरमा २६–५ को अवस्थामा थियो । तर रियाजत अली शाहले महत्वपूर्ण पारी खेले । सर्वाधिक ३३ रन बनाएका उनले छैटौं विकेटका लागि जुमा मियागीसँग ३५ रनको महत्वपूर्ण साझेदारी गरे ।

मियागी व्यक्तिगत १३ रनमा आउट भए, थप १४ रन जोडेपछि रियाजत पनि आउट भए । तर त्यस बेलासम्म युगाण्डको जितको आधार तय भइसकेको थियो,

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो ।

युगाण्डाका ४३ वर्षीय स्पीनर फ्रेङ्क न्सुबुगाले विश्वकप इतिहासमा इकोनोमिकल ओभर बलिङ गरेका थिए । पूरै चार ओभर बलिङ गरेका उनले ४ रन मात्र दिएर २ विकेट लिएका थिए । अल्पेश रामजानी, कस्मास केइवुता र जुमाको नाममा पनि २–२ विकेट रह्यो भने ब्रायन मासाबाले एक विकेट लिए ।

ऐतिहासिक जितपछि युगाण्डाका खेलाडीहरू समर्थकहरूलाई सम्मान व्यक्त गर्न बाउण्ड्री डोरीमा जम्मा भए, जो अफ्रिकाबाट आएका थिए । उनीहरूको सेलिब्रेसन यत्तिमा रोकिएन । युगाण्डाका खेलाडीहरू आफ्नो गीत गाए, नाचे, जुन क्षणभरमै भाइरल भयो ।

‘क्रिकेट क्रेन’ का कप्तान मासबा भन्छन्, ‘विश्वकपमा पहिलो जित, योभन्दा विशेष अरु केही हुन सक्दैन ।’

‘क्रिकेट क्रेन’ को यात्रा

युगाण्डाको विश्वकप यात्रा आफैंमा ऐतिहासिक थियो । अफ्रिकन छनोटमा उसले अनुभवी देश जिम्बाब्वे, (जो लामो समय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पूर्ण सदस्य थियो)लाई हराएर विश्वकपमा स्थान बनाएको थियो ।

युगाण्डा क्रिकेट एसोसिएसनले विश्वकपको दुई महिना अगाडि मात्र भारतका अभय शर्मालाई प्रमुख प्रशिक्षक नियुक्त गर्‍यो । युगाण्डाको टिममा २१ वर्षका मियागीले पनि स्थान बनाए, जो भोलिका युवाहरूका प्रेरणको श्रोत बन्न सक्छन् । ।

सन् १९९७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका ४३ वर्षका अनुभवी न्सुबुगाले पनि स्थान बनाए, जसले पहिलो टी–२० पूर्वी अफ्रिकाबाट खेलेका थिए । त्यो बेला युगाण्डा, तान्जनिया र जिम्बाब्वेको एउटै टिम हुन्थ्यो, जसरी अहिले वेष्ट इण्डिज छ ।

युगाण्डाका मानिसहरूले न्सुबुगाले भन्दा पहिला क्रिकेट कस्तो थियो भन्ने बिर्सिसके । तर न्सुबुगालाई भने टी–२० क्रिकेट अगाडिको जीवन याद छ । लुगोगोका उनले जीवनमा धेरै थोक देखे, अहिले वर्षौंको कडा मिहिनेतपछि विश्वकपमा रमाइरहेका छन् ।

म आफ्नो अगाडि टिसर्टमा रहेको यो (राष्ट्रिय) चराप्रति निकै गर्व गर्छु’ उनले भन्ने गरेका छन् ।

युगाण्डा क्रिकेट एसोसिएसनको लोगोमा त्यहाँको राष्ट्रिय चारा बकुल्लाको फोटो छ, जसका कारण युगाण्डालाई ‘क्रिकेट क्रेन’पनि भन्ने गरिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button