Main

श्रम गर्न विदेशिएका युवाको सम्मानमा ब्रबिम शेर्माको ‘ओ परदेशी साथी’

काठमाडौं । गायक ब्रबिम शेर्माले नयाँ गीत ‘ओ परदेशी साथी’ ल्याएका छन् । लिम्बू भाषा र पहिचानवादी गायकको रुपमा परिचित ब्रबिमको यो गीतमा श्रमका लागि विदेशिएका नेपाली युवाप्रति सम्मान व्यक्त गर्नुपर्छ भन्ने सन्देश छ ।

गीतमा महेन नेम्बाङको शब्द र ब्रबिमकै संगीत छ । एरेन्ज देवेश राईले गरेका हुन् । गीतको लिरिकल भिडियोमा गायक ब्रबिमसहित बाद्यवादकको टोली फिचर्ड छन् । नुमा तुम्रोक र चन्दानुमा शेर्माको निर्माण रहेको भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

‘रेमिट्यान्स पठाएर उहाँहरुले नेपालको अर्थतन्त्रको मेरुदण्डको काम गर्नुभएको छ । उहाँहरुलाई सम्मान आवश्यक छ भन्ने सन्देश दिने प्रयास हो’, हाल बेलायतमा रहेका ब्रबिमले अनलाइनखबरसँग भने ।

भिडियोमा योगेश दाहालले छायांकन र अनिल रानाले सम्पादन तथा भीएफएक्स गरेका छन् । गीतमा विक्रम राई, शाहिल लिम्बू, मणिसुन्दर लिम्बू, अप्सु योगी तथा संगीता रणपहेंलीको कोरस गायन छ ।

ब्रबिम कार्यक्रममा सिलसिलामा हाल बेलायतमा छन् । हालसम्म बेलायतका चार स्थानमा कार्यक्रम गरिसकेका उनी ३० नोभेम्बरमा ग्रेइजमा गुञ्जिंदैछन् । त्यसैगरी ७ डिसेम्बरमा वेल्स, १४ डिसेम्बरमा बासिंटोक, २८ डिसेम्बरमा अक्सफोर्ड, २१ डिसेम्बरमा लण्डनमा सांगीतिक प्रस्तुति दिनेछन् ।

यस्तै ११ जनवरीमा स्वीन्डन, १८ जनवरीमा एस्फर्ड, २२ डिसेम्बरमा फेरि लण्डनमा उनको प्रस्तुति तय छ ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button