Main

सालाहको दुई गोलमा लिभरपुलको पुनरागमन जित

१० मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले पुनरागमन जित निकालेको छ । लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सालाहले २ गोल गरे भने डोमिनिक सोबोस्लाईले १ गोल गरे । साउथह्याम्पटनका एडक आर्मस्ट्रङ र म्याटियस फर्नान्डेसले १-१ गोल गरे ।

खेलको सुरूमा लिभरपुलले अग्रता लिएको भएपनि साउथह्याम्पटनले खेलमा फर्कँदै २-१ को अग्रता बनाएको थियो । त्यसपछि सालाहले २ गोद्य गर्दै टोलीलाई जित दिलाए ।

खेलको ३०औं मिनेटमा सोबोस्लाईले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ४२औं मिनेटमा आर्मस्ट्रङले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५६औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टोली खेलमा अग्रता बनाउन सफल भयो । तर त्यसको ९ मिनेटमा सालाहले गोल गर्दै खेल पुनः बराबरिमा ल्याए ।

८३औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सालाहले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीलाई ३-२ को अग्रतासहित जित दिलाउन सफल भए ।

जितपछि लिभरपुल १२ खेलमा ३१ अंक जोडेर शीर्षस्थानमा यथावत् छ भने साउथह्याम्पटन ४ अंकसहित पुछारमा छ ।

युनाइटेडको बराबरी

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडलाई इप्सविच टाउनले १-१ को बराबरीमा रोकेको हो ।

खेलको २ मिनेटमा नै मार्कस रासफर्डले गोल गर्दै अग्रता बनाएको भएपनि ४३औं मिनेटमा ओमारी हचिन्सनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन सकेन । बराबरीपछि युनाइटेडको १२ खेलबाट १६ अंक भएको छ । इप्सविचको ९ अंक छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button