Main

सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा माग

३ साउन, धनगढी । नेपाली कांग्रेस र नेकपा एमाले कैलालीले संयुक्त रूपमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गर्न नसकेको र अन्य विकल्पको प्रयोग गरेर पनि बजेट ल्याउन नसकेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग गरिएको हो ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चालु वर्षका लागि बजेट नआएको र अन्य जायज विकल्प नखोजेर प्रदेशलाई आर्थिक संकटमा धकेल्ने काम भएको उनीहरूले बताएका छन् ।

प्रदेश बजेट शून्यतामा गएका कारण सिंगो अर्थतन्त्रमाथि गम्भीर संकट पारेको, मन्त्रालय र मातहतका निकायको राजस्व संकलन र खर्च ठप्प भएका कारण प्रदेशको आर्थिक प्रणाली तहसनहस हुने अवस्था आएकोले राजीनामा दिएर मुख्यमन्त्रीले निकास दिनुपर्ने उनीहरूको माग छ ।

‘आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस र नेकपा एमाले कैलाली आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेका अध्यक्ष यज्ञराज ढुंगाना र कांग्रेसका सचिव नृपबहादुर सुनारले जारी गरेको विज्ञप्तिमा गम्भीर परस्थितिमा संवेदनशील भएर प्रदेशको गरिमा बढाउन सहकार्य, सहमति र एकताका साथ अगाडि बढ्न राजनीतिक दल र प्रदेश सभा सदस्यहरूलाई आग्रह समेत गरिएको छ ।

अधिवेशन चालु रहेको अवस्थामा बजेटमाथि छलफल नभएर अलपत्र पार्नु र वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्‍याएको प्रति गम्भीर ध्यानाकर्षण भएको समेत उनीहरूको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button