हरिप्रसाद रिमालको शतवार्षिकीमा राष्ट्रिय नाटक महोत्सव नाचघरमा सुरु

काठमाडौं । रेडियो नेपालका प्रथम गायक, रंगकर्मी, अभिनेता तथा गीतकार हरिप्रसाद रिमालको शतवार्षिकीको अवसरमा पहिलो ‘राष्ट्रिय नाटक महोत्सव-२०८१’ आइतबारदेखि सुरु भएको छ ।
हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको नाटक नाचघरको हरिप्रसाद रिमाल प्रेक्षालयमा सुरु भएको हो । महोत्सवको पहिलो दिन याम नारायण आचार्य निर्देशित ‘सति कलसा’ र सुरेश पोर्तेल निर्देशित ‘घरजम’ नामक दुई नाटक प्रदर्शन गरियो ।
समारोहका प्रमुख अतिथि यादव खरेलले नेपाली नाट्य तथा संगीत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे । उनले रेडियो नेपालमा रिमालको साथमा आफूले पनि सहकार्य गरेको स्मरण गरे ।
रिमालसँग काम गरेकामध्ये केही व्यक्ति मात्र जीवित रहेको उल्लेख गर्दै उनले रिमालबारे बाहिर नआएका विषयमा जानकारी लिएर पुस्तक प्रकाशन गर्न सुझाव दिए ।
प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले नेपाली नाटक, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे । यो महोत्सव नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको जनाउँदै उनले रिमालको योगदानलाई अभिलेखीकरण गर्न प्रतिष्ठानले पाइला चाल्ने बताए ।
साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठीले रिमालले नेपाली नाटक र संगीतको क्षेत्रमा आफ्नै युगको सुरुवात गरेको र सो युगको नायक रहेको चर्चा गरे । महोत्सवमा ६ नाटक मञ्चन गरिनेछ ।
विजयी हुनेलाई ट्रफी र सम्मानपत्रसहित एक लाख रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने र महोत्सव अवधिभर खाने, बस्ने र यातायात प्रबन्ध गरिने जनाइएको छ ।
महोत्सव मंगलबारसम्म चल्नेछ । दैनिक दुई नाटक मञ्चन हुनेछन् । सोमवार ‘नीब’ र ‘नाच नवरंगी’, मंगलबार ‘लासको खेती’ र ‘साल्भिया’ मञ्चन गरिनेछन् । बुधबार रिमालको जन्मजयन्तीको दिनमा प्रतिष्ठानले विजयी घोषणा गर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।