१० अर्बले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

३ असार, काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महिना (जेठ मसान्त) सम्म कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आव २०७९/८० को यसै अवधिको तुलनामा १० अर्ब भन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
यस वर्ष सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । यसको प्रभाव लगानीमा देखिएको छ । उद्योग विभागका अनुसार जेठसम्म कुल ३५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएको छ । जेठ महिनामा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।
यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । जेठ महिनामा मात्र भित्रिएको एफडीआईबाट २ हजार ३२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
अटोमेटिक रुटबाट ११ अर्ब भित्रियो
सरकारले चालु आवबाटै वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले अटोमेटिक रुट कार्यान्वयनमा ल्याएको थियो । यसका माध्यमबाट जेठसम्म ११ अर्ब ८१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ ।
जेठसम्म कुल ९० वटा प्रस्ताव अटोमेटिक रुटबाट भित्रिएर स्वीकृत भएको विभागले जनाएको छ । जेठ महिनामा मात्र ६८ वटा प्रस्तावमार्फत ८ अर्ब २७ करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको विभागको आंकडामा उल्लेख छ ।
एफडीआई ५ खर्ब नजिक
पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करीव ५ खर्ब पुगेको छ । जेठसम्म ५ खर्ब ९४ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रतयक्ष वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्यांकमा उल्लेख छ ।
अहिलेसम्म ६ हजार २१८ वटा एफडीआई स्वीकृत भइसकेको छ । स्वीकृत एफडीआईबाट ३ लाख २९ हजार ६५५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
साना उद्योगमा धेरै एफडीआई
आंकडा अनुसार नेपालमा साना उद्योगमा धेरै एफडीआई भित्रिएको पाइएको छ । यस वर्ष कुल ३४१ वटा साना उद्योगमा एफडीआई आएको छ । मध्यमस्तरीय उद्योगमा १४ र ठूला उद्योगमा ४ वटा मात्र प्रस्ताव स्वीकृत भएको छ ।
जेठ महिनामा ५१ वटा साना उद्योगमा एफडीआई स्वीकृत भएको छ । एउटा मात्र मध्यमस्तरीय उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ ।
पर्यटनमा आकर्षण
प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण पर्यटनमा अधिक देखिन्छ । यस वर्ष स्वीकृत कुल एफडीआईमध्ये पर्यटनमा मात्र आधा भित्रिएको छ । पर्यटनमा कुल १७६ वटा प्रस्ताव स्वीकृत भएको छ । यो कुल प्रस्तावको ४९ प्रतिशत हो । सेवा क्षेत्रमा ११४ वटा प्रस्ताव स्वीकृत भएको छ । जुन कुल प्रस्तावको ३२ प्रतिशत हो । उत्पादनमा ४० वटा प्रस्ताव स्वीकृत भएका छन् । सूचना प्रविधिमा १०, कृषिमा ८, पूर्वाधारमा ७, खानीमा ३ र ऊर्जामा १ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।