२० हललाई लिएर चलचित्र विकास बोर्ड र प्रदर्शक ‘आमनेसामने’
काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’का निर्माताले २० हलबाट फिल्म हटाउने निर्णय गरेपछि चलचित्र विकास बोर्ड र प्रदर्शक संस्था चलचित्र संघ ‘आमनेसामने’ भएका छन् ।
यी दुबै संस्थाले शनिबार बेग्ला बेग्लै वक्तव्य जारी गर्दै सो फिल्मका निर्माताको फिल्म उतार्ने निर्णयप्रति परस्पर समर्थन र विरोध जनाएका छन् ।
चलचित्र विकास बोर्डले आफ्नो वक्तव्यमा ‘पूर्णबहादुरको सारंगी’का निर्मातालाई ‘बोर्डलाई जानकारी उपलब्ध गराई आफ्नो दायित्व निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ ।
फिल्म उतारिएको भनिएका मोफसलका ती २० हललाई यसअघि नै बक्सअफिस जडान गरि चलचित्र प्रदर्शन गर्ने, गराउने सम्बन्धमा लिखित एवं मौखिक जानकारी गराइएको समेत बोर्डले जनाइएको छ ।
तर, ती हलले प्रचलित कानूनको उल्लंघन गर्दै लुकिछिपी फिल्म प्रदर्शन गर्ने र गराउने, बक्स अफिस प्रणालीलाई बेवास्ता गरि म्यानुअल टिकट वितरण गरि आर्थिक ऐन २०८१, चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६ र सोको नियमावली, २०५७ मा रहेको प्रावधान विपरित गतिविधि संचालन गरिरहेको बुझिन आएको समेत बोर्डले जनाइएको छ ।
‘गैरकानूनी’ क्रियाकलापमा संलग्न चलचित्रघरलाई तत्काल छानविन गरी कानूनी कार्वाही प्रक्रिया अघि बढाउने चेतावनी समेत बोर्डले दिएको छ । ‘कुनैपनि प्रकारको सम्झौता स्वीकार्य हुँदैन’ बोर्डले भनेको छ ।
असरको जिम्मा निर्माण पक्षले लिनुपर्छ : चलचित्र संघ
शनिबार बेग्लै विज्ञप्ति जारी गर्दै चलचित्र संघले ‘पूर्णबहादुरको सारंगी’का निर्माताको कदमप्रति आक्रोश जनाएको छ । कुनै चलचित्र प्रदर्शकले गलत व्यापारिक तथ्यांक बुझाएको भए त्यसलाई प्रमाणित गर्न संघले चुनौति दिएको छ । हचुवाको भरमा चलचित्र संघका सदस्यको मानमर्दन गर्न खोजिएको भए यसप्रति कडा आपत्ति जनाउने संघले उल्लेख गरेको छ ।
तत्काल माफी माग्दै आफ्नो विज्ञप्ति सच्याउन निर्माण पक्ष सेभेन सिजलाई संघले आग्रह गरेको छ । ‘यसबाट पर्ने कुनै पनि असरको जिम्मेवारी स्वयम निर्माण पक्षको हुनेछ’ संघले विज्ञप्तिमा भनेको छ ।
सेभेन सिजले शुक्रबार बेलुका प्रेस वक्तव्य जारी गर्दै मोफसलका २० हलले उपलब्ध गराएको ग्रस कलेक्सनको रिपोर्टप्रति असहमति जनाउँदै शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।