Main

५ खर्ब नाघ्यो शोधनान्तर बचत, चालु खाता कति ?

२ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा शोधनान्तर बचत ५ खर्ब नाघेको छ । एक आर्थिक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नघेको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।

राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षको भुक्तानी सन्तुलत ५ खर्ब २ अर्ब ४९ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक व्यापार करिब स्थिर जस्तै हुँदा रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको सुधारले शोधनान्तर बचत सँगै चालु खाता बचत पनि उच्च दरमा बढेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो । गत आर्थिक वर्षमा अझै बढेको हो । गत आसारमा अमेरिकी डलरमा शोधनान्तर बचत ३ अर्ब ७७ करोड छ ।

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थिति बचतमा नै भएपनि चालु खाता घाटामा थियो । उक्त वर्ष  चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्छ ।

गत आर्थिक वर्षमा पूँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने केही सुधार देखिएको छ । गत आर्थिक वर्षमो खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो लगानी ६ अर्ब १७ करोड मात्रै थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button