Main

३० रनमै आउट भएँ भनेर डराएको थिएँ : देव खनाल

२७ माघ, काठमाडौं । सिनियर टिममा कमब्याक गरेका यु–१९ टिमका कप्तान देव खनाल आफू जुनसुकै टिममा मौका पाउँदा पनि राम्रो गर्ने कोशिसमा रहने बताएका छन् ।

‘अवसर भनेको निकै राम्रो शब्द हो । मैले आफ्नो देशको लागि जुनसुकै आफूलाई ढाल्दै जाने र राम्रो दिने हो’, शनिबार क्यानडाविरुद्धको दोस्रो एकदिवसीय सिरिजमा ७६ रन जोडेका खनालले पत्रकारहरुसँग भने ।

शनिबारको खेलमा ३४ रन बनाएर खेलिरहँदा क्यानडेली खेलाडीबाट उनको क्याच ड्रप हुन पुग्यो र उनले जीवनदान पाए । ‘मलाई भित्रभित्रै आज पनि ३० रनमै आउट भएँ भन्ने सोच आइरहेको थियो । त्यसपछि रोहित दाइले सम्हाल्नुभयो, त्यसपछि बाहिरबाट (आउट नभएको) म्यासेज आयो ।’

देवका लागि यू–१९ टिमको जिम्मेवारी सम्हाल्नु र त्यस टिमबाट विश्वकप खेल्न पाउनु आफूलाई निर्खाने मौका भयो । यू–१९ मा उनले पाएको जिम्मेवारीले आफू थप जिम्मेवार र परिपक्व भएको अनुभव उनी आफैंले पनि गरेका छन् । ‘खेलको रुपमा त छँदैछ, व्यक्तिगत रुपमा पनि म निकै अगाडि बढेको छु’, देवले पत्रकारहरुसँग भने ।

आगामी दिनमा पनि खेलमा मिहिनेत गर्दै जाने र पाएको अवसर सदुपयोग गर्ने देवले बताए । ‘आफूले मिहिनेत गर्ने हो, बाँकी त सबै भगवानको हातमा छ’, उनले भने ।

रन बढ्दै गएपछि आफू शतकको आशामा रहेको पनि देवले सुनाए । ‘आज ७० कटेपछि भने मेडन सेन्चुरीको बारेमा सोचेको थिएँ तर पूरा भएन’, उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button