Main

नयाँ समीकरणको १ महिनामै धेरै काम भएको छ : प्रधानमन्त्री

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण सहितको सरकार बनेको एक महिनामै धेरै राम्रो काम भएको बताएका छन् ।

मकवानपुरमा शुक्रबार नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको बताएका हुन् ।

प्रचण्डले भने, ‘नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।’

विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने दाबी गरे । ‘दिनदिनै काठमाडौंमा जुलुस गर्नुपर्ने अवस्था बदलिएको छ, सहकारी पीडितको समस्या समाधानतर्फ अगाडि बढेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने पनि बताए । उनले भने, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button