Main

जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक : मन्त्री ठकुरी

६ मंसिर, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासको नीति आवश्यक रहेको बताएका छन् । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तर अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले जलवायु अनुकूलनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको जिकिर गरे ।

‘उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव, र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेका छन् । जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक छन् । यसमा स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ,’ मन्त्री ठकुरीले भने ।

नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीर रूपमा देखा परेको औल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदीहरू द्रुत गतिमा पग्लिरहेकाले जलप्रवाहलाई नै अस्थिर बनाएको मन्त्री ठकुरीको भनाइ छ ।

साथै, पछिल्लो समय देखा परेको जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावले गर्दा विशेषगरी ग्रामीण जनजीवन र जैविक विविधता नै संकटमा परेको बताए।

सम्मेलनमा २३ देशका विज्ञहरूको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नयाँ प्रविधिको उपयोग गर्दै जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा बहस र छलफल भएको थियो ।

सम्मेलनमा उपस्थित सहभागीहरूले पनि छलफलले सामूहिक सोच र अनुभवको आदानप्रदानलाई सम्भव बनाएको र सुशासन प्रणालीलाई जलवायु परिवर्तनसँग अनुकूलित गर्न थप प्रेरणा दिएको बताएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button