‘पोएट आइडल’मा दयाहाङले वाचन गरे ‘डिग्री माइला’को कविता

काठमाडौं । कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ रोचक बनिरहेको छ । पछिल्ला एपिसोडमा निर्देशक अमनप्रताप अधिकारीले दर्शकमा रुचि जगाउन नयाँ टास्क, अतिथि र शैली कम्पोज गरेका छन् ।
शनिबार १९ औं एपिसोड छायांकन भयो, जसको प्रसारण सोमबार बेलुका हुँदैछ । अग्रज कवि क्षेत्रप्रताप अधिकारीप्रति समर्पित यो एपिसोडमा प्रतिस्पर्धीले त कविता वाचन गरे, साथै यो एपिसोडमा सेलिब्रेटीको कविता वाचन समेत हेर्न पाइनेछ ।
श्रवण मुकारुङले लेखेको यो कवितालाई अभिनेता दयाहाङ राईले वाचन गरेका हुन् । शुक्रबार रिलिज तयारीमा रहेको फिल्म ‘डिग्री माइला’मा समावेश यो कवितालाई दयाहाङले ‘द पोएट आइडल’मा वाचन गरेका छन् । यो कविता पहिलोपटक यो रियालिटी शोमार्फत सार्वजनिक गरिएको हो ।
मुकारुङले लेखेको र दयाहाङले वाचन गरेको फिल्म ‘डिग्री माइला’को कविता यस्तो छ :
विश्व मानचित्रमा होकी होकी जस्तो एउटा थोप्लो
अथवा कुनै अल्छी लेखकले उसको डायरीको पानामा
वाक्य पूरा नगरी… त्यत्तिकै तानेको धर्को जस्तो
रिडिङ ग्लासबाट हेर्दा काँक्रोको बियाँ
अथवा, झुसिलकिरोले खाइरहेको सुर्तीको पात जस्तो उसलाई
असंख्य विभेद कि रोग भोकले
बाढीपहिरो कि सुक्खा खडेरीले सधैं कुरुप बनाउँछ ।
तर त्यही देशका जनता भन्छन्
हाम्रो देश संसारकै सुन्दर देश हो
जहाँका मानिस एकअर्कालाई प्रेम गर्न डराउँछन्
जहाँका मानिस उन्मुक्त भएर जिउन डराउँछन्
जहाँ कसैको आँखामा बस्नु भन्दा झर्न सजिलो छ
जहाँ बाँच्नु भन्दा मर्नु सजिलो छ
बुद्ध र बुजे दुवैले छोडेको
भुकुटी र सीता दुवैले त्यागेको
तर बाटो नपाएर युगौंदेखि शहीदहरुको सेंहे डुलिरहेको
सरकार भने आफैं डीभी भरेर झुलिरहेको
यस्तो सुन्दर देशभित्र
दुर्घटनावश जन्मियो डिल्लीराम भुजेल उर्फ डिग्री माइला ।
संसारकै अग्लो शिखर भन्छन् सगरमाथालाई
अफसोच, हजारौं पैतालाका डोबहरु छन् उसका शिरमाथि
तब उसको उचाइको के अर्थ ?
जसरी आफ्नै सपना पछ्याउन नसकेर
चिलको छायाँ परेको सूर्य झैं
आफैंभित्र, गुजुल्टिरहेछ डिग्री माइला
तब उसको चेतनाको के अर्थ
बस्, यो तथाकथित सुन्दर देशमा
एउटा मणिढुंगा भएको छ
एउटा मानिस डिग्री माइला भएको छ ।
पृष्ठसंगीत र लयमा दयाहाङले प्रस्तुत कविता वाचन गरेका छन् । दर्शकले फिल्मभित्र समावेश कविता भने रिलिजपछि नै हेर्ने मौका पाउनेछन् ।
यस एपिसोडमा निर्देशक अधिकारी, होस्ट दिव्यदेवसहित कविहरू पल्लवीब, मिल्सन राई, मुनु अधिकारी, अनुप न्यौपाने र न्याथन रायनले क्षेत्रप्रताप अधिकारीका कविताहरू वाचन गरे । यो एपिसोडमा पुष्पण प्रधान र सारथी ब्याण्डको पनि विशेष प्रस्तुति थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।