Main

महिनावारीको बेला किन रोकी-रोकी रक्तस्राव हुन्छ ?

महिनावारी सामान्यतया चारदेखि सात दिनसम्म रहन्छ र एक महिनावारी चक्र लगभग हरेक २८ दिनमा पूरा हुन्छ । अनियमित महिनावारी भनेको दुई महिनावारी चक्रमा २१ दिनभन्दा कम वा ३५ दिनभन्दा बढीको अन्तरमा हुने अवस्था हो । साथै लगातार तीन वा त्यसभन्दा बढी महिनावारी नहुनु र कम रगत बग्नु वा निरन्तर रक्तस्राव हुनु अनियमित महिनावारीका लक्षण हुन् ।

कतिपय महिलामा अनियमित महिनावारीको समस्या हुन्छ । जसमा महिनावारी समयमा नहुने र रक्तस्राव कम हुने हुन्छ । कतिपयमा भने महिनावारीको बेला रोकी रोकी बेलाबेलामा रक्तस्राव हुने गर्छ ।

महिनावारीको बेला नियमित रक्तस्राव नहुनुको कारण

हर्मोनल असन्तुलन

यदि २० देखि ३५ वर्ष उमेरको बीचमा रक्तस्राव रोकी–रोकी हुन्छ भने हर्मोनल असन्तुलन यसको सबैभन्दा मुख्य कारण हो । एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हर्मोनले महिनावारी चक्रलाई नियमन गर्छ । यसमा थोरै गडबडीले पनि रक्त प्रवाहमा असर पार्न सक्छ । एस्ट्रोजनको मात्रा कम हुँदा पाठेघरको तह पातलो हुन सक्छ, जसले गर्दा रक्तस्राव हल्का हुन्छ । जब शरीरमा हर्मोनको स्तर असन्तुलित हुन्छ, यसले महिनावारीको नियमिततालाई असर गर्न सक्छ ।

केही महिला पीसीओएस र पीसीओडीबाट पीडित हुन्छन् । यसो हुँदा महिनावारी बीचबीचमा हुने गर्छ । धेरै तनाव लिने, खराब खानपान र खराब जीवनशैलीले पनि महिलामा हर्मोनल असन्तुलन निम्त्याउँछ । थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिजम र हर्मोन उत्पादनलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।  हाइपर थाइराइडिजम र हाइपो थाइरोइडिजम दुवैले महिनावारी अनियमित हुनसक्छ ।

पेरीमनोपज

पेरीमेनोपज ‘रजोनिवृत्तिको वरिपरि’ हो र त्यो समयलाई जनाउँछ, जुन समयमा शरीर प्राकृतिक रूपमा रजोनिवृत्तिको लागि तयार हुन्छ । यो प्रजनन् वर्षको अन्त्य हो । बीचबीचमा महिनावारी हुनुको कारण पेरीमेनोपज पनि हो ।

यस अवधिमा शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर घट्दा अनियमित महिनावारी हुन्छ र रक्तस्राव पनि रोक्दै हुँदै हुन्छ ।

रजोनिवृत्ति (मनोपोज)

जब महिलाहरू रजोनिवृत्तिमा पुग्छन्, हर्मोनको स्तर पनि कम हुन्छ । यसले रोक्दै रक्तस्राव हुनसक्छ । जसकारण महिनावारीको प्रक्रिया प्रभावित हुनुका साथै महिनावारीको समयमा रगत कम हुने समस्या पनि हुनसक्छ । यस अवधिमा पनि बीचबीचमा महिनावारी हुनसक्छ । यो सामान्यतया ४५ देखि ५५ वर्षसम्मको उमेर अवधिमा हुन्छ ।

गर्भनिरोधक औषधि

गर्भनिरोधक चक्की खाने महिलाले पनि समय-समयमा रगत बग्ने समस्या अनुभव गर्न सक्छन् । गर्भनिरोधक औषधिहरूले अण्डाशयलाई दबाएर पाठेघरको तहलाई पातलो बनाउँछ । जसकारण महिनावारी हलुका हुन्छ वा छुटेको हुन्छ ।

यी चक्कीहरूले शरीरमा हर्मोनको स्तरलाई नियन्त्रण गर्छ र कहिलेकाहीं यसले महिनावारी रोक्न वा अनियमित हुनसक्छ । गर्भपतन चक्की खाएपछि पनि महिनावारीमा यस्तै प्रकारले परिवर्तन आउने गर्छ ।

पाठेघरको मुखमा मासु पलाएमा

पाठेघरको मुखमा रगत पलाएमा पनि महिनावारीपछि बीचमा रक्तस्राव हुनसक्छ । यस्तो समस्यामा यौन सम्पर्कपछि पनि रगत बग्ने हुनसक्छ । पाठेघरको मुखसँगै भित्री भाग इन्डोमेट्रीएममा वा मायोमेट्रीएममा  ट्युमर पलाएमा पनि महिनावारी बाहेक रक्तस्राव हुनसक्छ ।

उपचार

महिनावारीको समय बाहेक पनि बीचमा रक्तस्राव हुन्छ भने सबैभन्दा पहिले चिकित्सकलाई भेटेर परीक्षण गर्नुपर्छ । परीक्षणमा समस्या देखा परे त्यसको उपचार गर्नुपर्छ । जस्तो- हर्मोनल गडबडीको कारण रोकी-रोकी रक्तस्राव भएको हो भने हर्मोनलाई सन्तुलनमा ल्याउने औषधि सेवन गर्नुपर्छ । पाठेघरको मुखमा मासु पलाएको हो भने शल्यक्रिया गर्नुपर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button