Main

शहर पस्न थाले बाढी–पहिरो पीडित

२० असोज, बेथानचोक (काभ्रे) । शुक्रबार दिउँसो बृद्ध आमा लिएर गोकर्णप्रसाद तिमिल्सिना बेथानचोकको पार्थली ओरालो झर्दै थिए । आमालाई अगाडि लगाएका गोकर्णको साथमा थियो, एउटा ब्रिफकेस ।

बेथानचोक गाउँपालिकाको ढुङ्खर्क जाँदै गरेको अनलाइनखबर टोलीसँग सुरुमा उनले नबोल्ने बताए । ‘केही बोल्ने अवस्थामै छैन, बोल्दिनँ’, यति भनिसक्दा उनी भक्कानिसकेका थिए ।

तर बोल्दिन भन्दाभन्दै केही बोले । ‘यो गाउँमा बस्ने आधार रहेन’, नवराज भनेर गाउँलेले चिन्ने गोकर्णले अन्योल सुनाए, ‘अब कहाँ जाने थाहा छैन, तर जहाँ गएपनि मजदुरी गरेर भएपनि आमालाई पाल्छु ।’

बेथानचोक–२ ढुङ्खर्कमा नवराजको घर र बारी थियो । दाजुभाइ छुट्टिसकेको हुनाले ७२ वर्षीया आमा नवराजसँग बस्दै आएकी थिइन् । गाउँपालिकाको केन्द्र नजिकै घर र बारी भएकाले उनी राम्रै परिवारमा गनिन्थे ।

तर गत १० र ११ असोजमा लगातार परेको अत्याधिक वर्षापछि नवराजको दुईवटै घर लग्यो । जमिन बग्यो ।

उनको घरमुनि बेथानचोक गाउँपालिकाकै लाइफलाइनका रुपमा रहेको सडक थियो । त्यो सडक पुरियो । सयौं रोपनी खेतसँगै घरहरु पुरियो, बग्यो । तीन जनाले ज्यान गुमाए ।

अब बेथानचोकमा नवराजसँग एउटा छाप्रो हाल्ने जमिन पनि बाँकी रहेन । एकैरात वैभवबाट विनाश सहनु परेको नवराजले यसपछि गाउँ छोड्ने निर्णय लिए ।

‘मलाई एक बोरा चामल र राहतले केही हुँदैन’, नवराजले भने, ‘अब मैले गाउँ छोडे । आमालाई काठमाडौं लान्छु, तर त्यहाँ बस्ने ठेगान छैन ।’
त्यस रात नवराजले आमा र आफ्नो जीवन बाहेक केही जोगाउन सकेनन् । पशुचौपाया, भाँडाकुँडा सबै पहिरोमा बग्यो । पहिरोपछि घर होइन, घर रहेको ठाउँ अनुमान गर्नुपर्ने अवस्था छ ।

नवराजका दाजुभाइ भने गाउँमै छन् । ‘नवराज दाइको घर र जग्गा त्यहीँबाट थियो । तर पहिरोले सीमाना छुट्याए जसरी लग्यो’,ध्रुब तिमिल्सिनाले पहिरोतिर देखाउँदै भने ।

हुन पनि नवराजको घरजमिनको कुनै नामनिशाना भेटिदैन । बरु उनको घरबारी बगाउँदै गएको पहिरोले पात्ने खोला पारी रहेको बस्ती क्षतिग्रस्त बनाएको छ । स्थानीयका अनुसार त्यो बस्तीमा दर्जन भन्दा बढी घर छन् ।

बाढी पहिरोपछि गाउँघर छोडेर हिँड्ने नवराज प्रतिनिधि पात्र मात्र हुन् । चलाल गणेस्थानका स्थानीय वीरेन्द्र श्रेष्ठका अनुसार दिनहुँ बथोनचोक छोड्नेहरुको ठूलै संख्या भइसकेको छ ।

गाउँ छोड्नेमध्ये कतिपय ज्यान जोगाउन अस्थायी रुपमा बनेपातिर आएका छन् भने कतिपयले स्थायी रुपमा छोडेका छन् । ‘कोठा भाडा तिर्न क्षमता हुने र बनेपा पनौतीतिर बस्ने आधार भएकाहरु गाउँ छोडेर हिँडिसके’, श्रेष्ठले भने, ‘अन्यत्र गएर बस्ने कुनै आधार नहुनेहरु गाउँमै जोखिम मोलेर बसिरहेका छन् ।’

गाउँमा स्कुल, स्वास्थ्य चौकी, बजार, सडक, विजुली सबै क्षतिग्रस्त भएपछि बेघरबार बनेकाहरु अवसर खोज्दै शहर पस्न थालेको उनी बताउँछन् ।

शुक्रबार अनलाइनखबरको टोलीले पनि नवराज जस्ता थुप्रैलाई ओढ्ने ओछ्याउने सहित बोकेर शहर पसेको भेट्यो । शहर पस्नेहरु मध्ये सबैको समस्या समान छ, घर बस्नै नसकिने गरी भत्किएपछि/पुरिएपछि शहर पसेको ।

बाढी पहिरोबाट क्षतिग्रस्त घर छोडेर पनौती बस्ने मध्ये एक थिइन्, दुर्गामाया तामाङ । घरमाथि आएको लेदोले घर पुरिएपछि ६ जनाको परिवार अहिले पुनौतीमा बस्दै आएको छ ।

‘पानी पर्नु अघिसम्म खानीमा ब्रेकर लगाइरहेको थियो । अहिले खानीनजिक ठूलो पहिरो झरेको छ’, उनले भनिन् । बाढी आएको रात दुर्गामाया लेदोमा पुरिएका थिए । उनलाई परिवारका अरु सदस्यले बचाए पनि छेउमै दुई जनाको ज्यान गयो । त्यो घटनापछि दुर्गामायाको परिवार चलाल छोडेर पनौतीमा बस्न थाल्यो ।

दुर्गामायासँग मिल्दो समस्यामा भेटिए, औतार लामा । बेथानचोक–४ देवीस्थानका लामा २०७२ को भूकम्प अगाडि माथि पखेरामा बस्थे ।

भूकम्पले घर भत्काएपछि सडकलाई किनारा बनाएर देवीस्थान खोलामा पसल सुरु गरेका थिए । तर बाढी पहिरोले घर र पसल लग्यो ।

सलान्दुको बाढीले घर र पसल लगेपछि उनी नजिकैको शहरमा आश्रय लिनुपर्ने अवस्थामा पुगे । औतारसँग त्यसरातको बाढीले काली तामाङ, कुन्साङ लामा, सानुकान्छी तामाङ, मदन लामा र गोविन्द श्रेष्ठ पनि बेघरबार भए ।

देवीस्थानकै जस्तो समस्या अरु खोला किनारमा रहेकाहरुको पनि छ । उनीहरु ज्यान जोगाउने खोजीमा शहर पस्न थालेका छन् ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारी बाढी पहिरोबाट त्यस राति एक हजार परिवार प्रभावित बनेको अनुमान गर्छन् । ‘धेरैको बासस्थान उठेको छ । उनीहरुमध्ये कतिपय सहर जान लागेका छन्’, उनले भने ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button