‘झिल्को’को शुभसाइत, शीर्ष भूमिकामा सुनिल पोखरेल र वर्षा सिवाकोटी

काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको आगामी फिल्म ‘झिल्को’ निर्माणको औपचारिक घोषणा भएको छ । बिहीवार गुह्येश्वरी मन्दिरमा फिल्मको शुभसाइत गरियो ।
स्क्रिप्ट पूजापाठ गरेर कास्ट एण्ड क्रिउले फिल्मको निर्माण सुरु भएको जानकारी दिए । उक्त अवसरमा निर्देशक भट्टराईले यो फिल्मले वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गर्ने बताए ।
आफ्ना फिल्ममा प्रायः सामाजिक इस्युलाई उठान गर्ने भट्टराईले यसमा पनि सामाजिक मुद्दा उठाएका छन् । माघ २२ गतेदेखि काठमाडौंमा फिल्म छायांकन हुने जानकारी उनले दिए । झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय फिचर हुनेछ ।
फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको अभिनय हुनेछ । अभिनेत्री सिवाकोटीसँग झिल्को र काजीको लाइनअप हुनेछ ।
सुनिलका लागि भने यो १३ वर्षपछिको कमब्याक हुनेछ । उनले पछिल्लोपटक ‘आचार्य’मा अभिनय गरेका थिए जुन सन् २०११ मा रिलिज भएको थियो । त्यसअघि उनले विष, अल्पविराम र गोधुलीमा अभिनय गरिसकेका छन् ।
निर्देशक भट्टराई निर्देशित पहिलो फिल्म ‘झोला’ सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो । पछिल्लो झिल्कोको पटकथा तथा संवादलाई भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले लेखेका छन् । दीपक बज्राचार्यको छायांकन, चण्डीप्रसाद काफ्लेको संगीत हुनेछ ।
तस्वीर : भोला काफ्ले
– यस समाचारको श्रोत : Online Khabar हो ।