Main

सौगात मल्ल स्टारर ‘अगस्त्य’ शुक्रबारदेखि ओटीटीमा

काठमाडौं । ‍सौगात मल्ल स्टारर एक्सन फिल्म ‘अगस्त्य’ शुक्रबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । हलमा प्रदर्शन भइसकेको फिल्मलाई एमएसएम भिडियोले स्ट्रिमिङ गर्न लागेको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त ओटीटी प्लाटफर्मले फिल्म आउने जनाएको छ । गत फागुन १८ गते हलमा रिलिज भएको फिल्मलाई सौरभ चौधरीले लेखन तथा निर्देशन गरेका थिए ।

अपराध अनुसन्धानको कथा देखाइएको फिल्ममा सौगात मल्ल प्रहरी अधिकारीको भूमिकामा छन् जसलाई चेलिबेटी बेचबिखनमा संलग्न गिरोहको अनुसन्धान गर्ने जिम्मा दिइएको हुन्छ । फिल्ममा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल र रवीन्द्र झाको पनि अभिनय छ ।

एमएसएम मार्फत यो फिल्म हेर्न ‘डेली’ र ‘विक्ली’मध्ये कुनै एक सब्सक्रिप्सन योजना छान्नुपर्छ ।‍ डेली प्लानको ४.९७ डलर र विक्ली प्लानको ७ डलर शुल्क तोकिएको छ ।

कार्डबाहेक खल्ती वा ई-सेवाबाट शुल्क तिर्न ‘मोर पेमेन्ट अप्सन’मा जान सकिन्छ । जसमा डेली प्लानको शुल्क २९८ नेपाली रुपैयाँ र विक्ली प्लानको ४२० नेपाली रुपैयाँ शुल्क तोकिएको छ । यो प्लाटफर्मले बेहुली फ्रम मेघौली, दिमाग खराब, महाजात्रा र घरज्वाइँ रिलिज गरिसकेको छ । चाँडै ‘फर्की फर्की’ र ‘बगान’ समेत रिलिज गर्ने तयारी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button