असन्तुष्ट पक्षको भाग राख्दै शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा

२७ वैशाख, काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) को भाग राखेर लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा भएको छ ।
शिक्षक महासंघका दुई मुख्य घटक संस्था एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) र कांग्रेस निकट नेपाल शिक्षक संघ (एनटीए) बीचको विवादका कारण १०, ११, १२ वैशाखमा भएको दोस्रो महाधिवेशनमा नयाँ कार्यसमिति बन्न सकेको थिएन ।
एनएनटीएले महाधिवेशन बहिष्कार गरेपछि नयाँ कार्यसमिति बन्न सकेन र १७ वैशाखमा कार्यसमिति घोषणा सभा राख्ने भन्दै महाधिवेशन सकिएको थियो ।
महासंघले समस्या समाधान गर्न गठन गरेको वार्ता समितिले पटक पटक वार्ता गरे पनि सहमति हुन सकेको थिएन । विवाद समाधान हुने नदेखिएपछि बिहीबार एनएनटीएको भागमा पर्ने महासचिव, उपाध्यक्ष, उपमहासचिव, सचिव लगायतका ११ पद खाली राख्दै सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता कै क्रममा रहेको र चाँडै संगठन पनि सहमतिमा आउने बताए । उनले भने ‘हामीले एनएनटीएको लागि पद खाली राखेर गएका छौं । केही दिनभित्रै उहाँहरू पनि आउनुहुन्छ ।’ अरू सबै घटक संस्थाको सहमतिमा नयाँ कार्यसमितिको घोषणा भएको उनले जिकिर गरे ।
तर नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले भने संगठनलाई बाहिर राखेर घोषणा भएको नयाँ कार्यसमिति विधान विपरीत रहेकोले मान्य नहुने बताए । उनले भने ‘म बुटवल छु हामीलाई कुनै पनि जानकारी आएको छैन । तर कार्यसमिति घोषणा भएको सुनें यो विधान विपरीत छ र हामीलाई मान्य छैन ।’ अब संगठन कसरी बढ्ने भन्ने कुरा आफू काठमाडौं फर्केर निर्णय गर्ने बताए ।
संगठनले पुरानो सदस्यताको आधारमा (७८ सालको) राखिएकाले मान्य नहुने, विधान अनुसार बहुमत पुर्याउनको लागि पनि कम्तीमा ३९ वटा जिल्लामा अधिवेशन सक्नुपर्ने त्यो नभएसम्म सहमति हुन नसक्ने अडान राखेपछि विवाद लम्बिएको हो ।
महासंघको विधानअनुसार स्थानीय तह, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै केन्द्रको महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । सदस्य संख्याको आधारमा पहिलो हुनेले अध्यक्षसहित ११ सिट पाउने, दोस्रो हुनेले महासचिवसहित ११ सिट पाउने, तेस्रो हुनेले सहअध्यक्ष लगायत पाउने, चौथो हुनेले कोषाध्यक्ष सहितका सिट पाउने व्यवस्था छ ।
सोहीअनुसार संगठनको भागमा महासचिव सहितको पद खाली राखेर कार्यसमिति घोषणा गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।